बझाङमा पत्रकारमाथि घेराबन्दी हमला! होटलमा बोलाई चक्कु प्रहार

काठमाडौँ, माघ २९ – नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि नृशंस आक्रमण भएको छ। सोमबार राति १० बजे जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरको देवीस्थान होटलमा उनलाई बोलाएर चक्कु प्रहार गरिएको हो।
सिंहका अनुसार, मष्टा गाउँपालिका–४ का विनोद कठायतसहितको समूहले ‘महत्वपूर्ण कुरा छ’ भन्दै उनलाई होटलमा बोलायो। तर, उनले भोलि कुरा गरौँ भने पनि जबर्जस्ती अपरहण शैलीमा कोठामा लगेर चुकुल लगाइ कुटपिट गरियो। उनीमाथि अन्धाधुन्ध चक्कु प्रहारसमेत गरिएको छ।
यस आक्रमणबाट उनको निधारमा गहिरो चोट लागी तीन टाँका लगाउनुपरेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको थियो।
नेपाल पत्रकार महासंघले घटनाको कडा शब्दमा भर्त्सना गर्दै प्रेस स्वतन्त्रतामाथि गरिएको यो आक्रमणलाई जघन्य अपराधको रूपमा लिएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन्।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पत्रकारलाई त्रसित बनाउने यस्ता घटनाले प्रेस स्वतन्त्रतामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै पत्रकार महासंघले सत्यतथ्य छानबिन र कडा कारबाहीको माग गरेको छ।
नेपाल पत्रकार महासंघ