एमाले सचिवालयमा ‘सानो युवराज’ को दबदबा, ओलीका नातीको कमाल

कम्युनिष्ट पार्टीको ‘फलामे अनुशासन’ कता हरायो?
कम्युनिष्ट पार्टीहरू कडा अनुशासन र जनवादी केन्द्रीयता को सिद्धान्तमा चल्छन् भन्ने मान्यता छ। तर, नेपालका कम्युनिष्ट पार्टीहरूमा यो नियम कागजमै सीमित बन्दै गएको देखिन्छ। विशेषगरी, आफैंलाई कम्युनिष्ट आन्दोलनको मूल प्रवाह दाबी गर्ने नेकपा (एमाले) मा सांगठनिक अराजकता चरम सीमामा पुगेको गुनासो छ।
एमाले बैठक कि बालक खेलाउने थलो?
पार्टीको सबैभन्दा महत्वपूर्ण निर्णय लिने सचिवालय बैठक कत्तिको गम्भीर रूपमा सञ्चालन हुन्छ भन्ने बुझ्न एक दृश्य नै काफी छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली का स्वकीय सचिव राजेश बज्राचार्य बैठकका बेला औषधि र पानी लिएर कक्षमा आउ-जाउ गरिरहन्छन्, जुन स्वाभाविक हो। तर, जब राजेशका तीन वर्षीय छोरा बैठक कक्षमा छिर्छन्, एमालेको हाइकमाण्ड बैठक एकाएक खेलमैदानमा बदलिन्छ!
नेताहरू ओलीका नातीसँग रमाउँदै, बैठक अवरुद्ध!
बैठकमा गम्भीर छलफल भइरहेको भए पनि बालक आएपछि सबै नेताहरू खेल्न तल्लीन हुन्छन्।
ओलीदेखि विष्णु पौडेल, प्रदीप ज्ञवालीसम्मका शीर्ष नेताहरू फुच्चेसँग जिस्किँदै रमाउन थाल्छन्। बच्चाले सबैलाई ‘तँ’ भनेर बोलाउँछ, चिमोट्छ, जिस्काउँछ, तर कसैले केही भन्न सक्दैन। ओली ४५ मिनेटसम्म काखमा राखेर रमाउँछन्, बैठक छाडेर।
युवराज शैलीमा नातीको राज!
ओलीका नातीले बैठक अवरुद्ध गरेको यो पहिलो घटना होइन।
पार्टीका एक नेताका अनुसार, अध्यक्ष ओलीलाई मन लागेको बेलासम्म नातिसँग पुल्पुलिएर बस्न दिने प्रवृत्तिले सचिवालयका धेरै बैठक घण्टौं रोकिएका छन्।
एक नेताले व्यंग्य गर्दै भने, "यहाँ बोल्न पाइँदैन, तर गर्न जे पनि पाइन्छ!"
कम्युनिष्ट पार्टी कि नयाँ दरबार संस्कृति?
राजतन्त्रको समयमा युवराजहरू दरबारका बैठकमा जथाभावी गर्ने खबर आउँथे। तर, राजतन्त्र हटाएर आएको एमालेमा नै 'युवराज संस्कृति' मौलाइरहेको देखिनु विडम्बना हो। बैठक अवरुद्ध पार्ने ओलीका नातीले एमाले सचिवालय बैठकलाई खेलमैदान बनाइरहेको यो दृश्य लोकतान्त्रिक पार्टीका लागि चिन्ताजनक संकेत होइन र?