समाचार

भूमि अध्यादेश: "उपेन्द्र यादवको सनसनीपूर्ण आरोप, सरकारको मक्सद मधेशलाई मरुभूमिमा परिणत गर्नु!"

भूमि अध्यादेश: "उपेन्द्र यादवको सनसनीपूर्ण आरोप, सरकारको मक्सद मधेशलाई मरुभूमिमा परिणत गर्नु!"

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेशमार्फत तराईको भूमि माफियाको स्वार्थका लागि लुकेको प्रपन्च भएको आरोप लगाएका छन्। उनले सरकारलाई चुरे क्षेत्र विनास गर्दै मधेशलाई मरुभूमिमा परिणत गर्न चाहने चलखेल गरेको बताउँदै भूमि अध्यादेशको बिरोध गरे।

सप्तरीको खडग नगरपालिका खरचुहियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले भने, "सरकारले जंगल र चुरे क्षेत्र विनास गरी पहाडबाट मानिस ल्याएर मधेशमा बसाउने योजना बनाई मधेशीलाई अल्पसंख्यक बनाउने षड्यन्त्र रचिरहेको छ।"

उनले थप भने, "भूमि माफियाको चक्करमा ल्याइएको यो भूमि अध्यादेश देश र जनताको हितमा छैन।" मधेशका ५४ प्रतिशत जनसंख्याका लागि मात्र १२-१३ प्रतिशत बजेट दिएको भन्दै यादवले सरकारको भेदभावपूर्ण नीति माथि कडा आलोचना गरे।

उनले चेतावनी दिए, "यदि जनताको समस्याको समाधान नभएमा, विद्रोहको बिस्फोट हुन सक्छ।" कांग्रेस र कम्युनिस्ट पार्टीले देशको विकासमा असफल भएको आरोप लगाउँदै, अब वैकल्पिक शक्ति खोज्नुपर्ने समयमा आइपुगेको धारणा व्यक्त गरे।