धोका र गुटबन्दीको खेल : देउवालाई नै चुनौती दिँदै कांग्रेसका नेताहरू

काठमाडाैं - नेपाली कांग्रेसमा पटक-पटक शेरबहादुर देउवा समूहमा रहेर अवसर पाएका नेताहरू अहिले उनैलाई ‘धम्क्याउन थालेका’ छन् । कांग्रेसमा बलियो र प्रभावशाली गुट बनाएर लामो समयदेखि संरक्षण पाउँदै आएका नेताले पछिल्लो समय उल्टै देउवालाई धम्क्याउने र दबाब बढाउने नीति लिएका हुन् ।
लगातार दुई पटक सभापति भएका देउवालाई पुनः उठ्न विधानले दिँदैन । यसैले देउवापछि को ? भन्नेमा प्रस्ट नहुँदा आ–आफ्नो ‘राजनीतिक भविष्य’ सुनिश्चित गर्न नेताहरूले देउवामाथि दबाब बढाउन थालेका हुन् । १५ औं महाधिवेशनमा देउवा नउठ्ने भएपछि उनैले मौका दिएका नेताहरू अहिले अन्यत्रै चौका हान्ने ध्याउन्नमा लागेका हुन् । महाधिवेशन आउन अझै केही वर्ष नै बाँकी छ ।
तर, नेताहरूले पाए देउवातिरै नभए अन्यत्र लाग्ने संकेत दिन थालेका हुन् । यस्तो लाइनमा देउवाले पटकपटक पार्टी संरचना, मन्त्री र सांसदमा अवसर दिएका नेता बढी देखिन्छन् । देउवा शक्तिमा हुन्जेल राजनीतिक संरक्षण र लाभ लिएकै नेताहरू पछिल्लो समय उनीसँग असन्तुष्ट देखिएका हुन् । यसैले परम्परागत बलिया गुट नरहने स्थिति देखिएसँगै नेताहरू नयाँ शक्ति केन्द्रको खोजीमा निस्कन लागेका हुन् ।
देउवाले पटकपटक अवसर दिएका प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँददेखि केन्द्रीय सदस्यसम्मका नेताले दबाब बढाउन थालेका छन् । देउवा र आरजुका विश्वासपात्र महत यही टिमबाट यसअघि सहमहामन्त्री भएका थिए । महत १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।
तर पनि देउवाले भरोसा गरेर उनलाई पार्टीको प्रवक्ता बनाए । तर, पछिल्लो समय महतको लाइन संस्थापनलाई सहयोग गर्ने हिसाबको नभएको देउवा समूहकै नेताको दाबी छ । कांग्रेस-एमालेको संयुक्त सरकार र यसले गरेका कामकै समेत आलोचना गरेको भन्दै महतको विरोध हुन थालेको छ । पार्टीले समेत मानेपछि पनि चीनसँग गरिएको बीआरआईको सहमतिमा महतले खुलेर समर्थन गरेका थिएनन् ।
पछिल्लोपटक सरकारका काम गराइमा समेत महत असन्तुष्ट बनेका छन् । पार्टी बैठकमै मन्त्रीका कामको आलोचना गर्ने, पदाधिकारीप्रति कठोर टिप्पणी गर्ने गरेको भन्दै उनी देउवा समूहमै आलोचित छन् । उनको यसै असन्तुष्टिलाई कतिपयले उनले क्याम्प छोड्न लागेको रूपमा व्याख्या गर्न थालेका छन् । यही सूचीमा देउवाले मन्त्री र सांसदमा पटकपटक अवसर दिएका केन्द्रीय सदस्य एनपी साउँद पनि छन् ।
उनी त खुलेरै शेखर समूहका कार्यक्रममा देखिन थालेका छन् । पछिल्लो केही समययता शेखरले जसरी सरकार र पार्टी नीतिको विरोध गर्छन्, साउँदको शैली पनि त्यही देखिने गरेको नेताहरू नै बताउँछन् । १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदारी गरे पनि देउवाले दिएनन् । बरु महत र अर्को टिमबाट ल्याएर प्रदीप पौडेललाई उम्मेदवार बनाए । देउवासँग असन्तुष्ट रहेका अर्का नेता हुन् बालकृष्ण खाँण । नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवाले आफ्नो बचाउ नगरेको भन्दै उनी असन्तुष्ट छन् ।
कांग्रेस सरकारमै भएका बेला खाँणलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । सो मुद्दापछि उनलाई जेलमै गएर पटकपटक भेटेका शेखरसँग उनको सौहार्द सम्बन्ध विकसित भइरहेको नेताहरू बताउँछन् । नेविसंघ र तरुण दलको अध्यक्ष भएका खाँणको नेटवर्क देशव्यापी रहेको नेताहरू दाबी गर्छन् । यसैले देउवासँग असन्तुष्ट रहेका खाँणलाई शेखरले आफ्नो पक्षमा ल्याउन सबै प्रयत्न लगाएका छन् । खाँण पनि अघिल्लो महाधिवेशनमा महामन्त्रीका दाबेदार थिए, तर पाएनन् ।
त्यतिखेरदेखि नै उनी असन्तुष्ट हुन थालेका थिए । देउवाले खाँणलाई पनि गृहमन्त्री, रक्षामन्त्री बनाइसकेका छन् । खाँणलाई आफ्नो समूहमा ल्याउन सके उनीबाट प्रभावित भएका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्लाका सभापति, नेता/कार्यकर्ताको ठूलो पंक्ति आउने विश्वास शेखर पक्षको छ । खुलेरै शेखरतिर नलागे पनि खाँणले देउवामाथि निरन्तर दबाब बढाइरहेका छन् ।
देउवासमेत दाङ पुगेको कार्यक्रममा खाँणले केही दिन अगाडि शेखर कोइराला कृष्णप्रसाद कोइरालाको नाति भएको भन्दै सांकेतिक भाषण गरेका थिए । खाँण शेखरतिर लागे देउवा टिमबाटै समहामन्त्री जितेका महेन्द्र यादवसमेत आफूतिरै आउने शेखर पक्षले हिसाब निकालेको छ ।