समाचार

रवि लामिछानेको राजनीतिक भविष्य अनिश्चित! मुद्दाले पार्ने छ संकट?

रवि लामिछानेको राजनीतिक भविष्य अनिश्चित! मुद्दाले पार्ने छ संकट?

काठमाडौँ – सहकारी बचत रकम ठगी गरेको आरोपमा मुद्दा चलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको सक्रिय जिम्मेवारीमा फर्किने विषयमा अन्योलमा रहेका छन्।

लामिछानेलाई कात्तिक २ गते सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो। उनमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। यद्यपि, लामिछाने चार वटा जिल्लाको अदालतको आदेशअनुसार धरौटीमा रिहा भएका छन्।

कास्की जिल्ला प्रहरीको हिरासतमा ८४ दिन बिताएका लामिछानेलाई पुस २६ गते अदालतले तोकेको ६५ लाख धरौटी बुझाएर रिहा गरेका थिए। उनले काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम, चितवनको साहारा बहुउद्देश्यीय र पर्साको सानोपाइला सहकारीबाट बचत रकम ठगी गरेको आरोप झेलिरहेका छन्।

पर्सा जिल्ला अदालतमा उनी विरुद्ध थप मुद्दा दायरको तयारी भइरहेको छ। पार्टीका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालका अनुसार, पर्सा जिल्ला अदालतको मुद्दाको परिणाम आउन नपाइदासम्म लामिछानेको सक्रिय जिम्मेवारीमा फर्किने प्रक्रिया ढिलाइ भएको छ।

अर्यालले भने, "पार्टीको बैठक गरेर परिस्थितिका आधारमा जिम्मेवारीको निर्णय गरिने छ।" यद्यपि, सभापतिको अनुपस्थितिमा पनि पार्टीको नियमित कार्यमा कुनै असर परेको छैन भन्ने उनले स्पष्ट पारे।

लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रहेका छन्, तर उनले संसद सचिवालयबाट निलम्बन गरिएको छ। उनले सांसद पद निलम्बन फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेपनि कानुनी प्रक्रिया र अदालतमा विचाराधीन मुद्दा भएका कारण त्यसको निर्णय चाँडो हुने सम्भावना छैन।

लामिछानेको भविष्यको बारेमा अहिले अनिश्चितता कायम रहेको छ। उच्च अदालत पाटनमा रिट दायर भइसकेको छ भने सरकारी वकिलहरू सर्वोच्च अदालतसम्म जाने योजना बनाइरहेका छन्। यसले लामिछानेको राजनीतिक भविष्यलाई अझै अंधकारमय बनाएको छ।