समाचार

भूमि अध्यादेशको विरोधमा लोसपा, शरतसिंह भण्डारीको मन्त्री पद संकटमा!

भूमि अध्यादेशको विरोधमा लोसपा, शरतसिंह भण्डारीको मन्त्री पद संकटमा!

सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भूमिसम्बन्धी अध्यादेश समर्थन नगर्ने भएको छ । लोसपाले बुधबार विज्ञप्ति नै जारी गरेर भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने उल्लेख गरेको थियो । 

बिहीबार सर्लाहीमा आयोजित एक कार्यक्रममा उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने भएकोले पार्टीले विरोध गरेको बताए । उनले सङ्घीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको समेत बताए । सरकारले ल्याएको उक्त अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । 

प्रतिनिधिसभामा ४ र राष्ट्रिय सभामा एक सांसद रहेको लोसपाबाट सांसद शरतसिंह भण्डारी सङ्घीय सरकारको श्रम मन्त्री रहेका छन् । भण्डारी २०औँ पटक मन्त्री पद सम्हालिरहेका छन् । तर, पार्टीले सरकारले ल्याएको अध्यादेशको विरोध गरेपछि उनको पद भने जान सक्ने भएको छ । उसो त पार्टी अध्यक्ष ठाकुरले नै सरकारले अध्यादेश नसच्चिए सरकारबाट बाहिरिने चेतावनी नै दिइसकेका छन् । 

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको भूमि अध्यादेश राष्ट्रिय सभाबाट पारित गराउन बहुमत जुटाउन कसरत गरिरहेका छन् । उनीहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फकाइरहेको बेला सरकारमै रहेको लोसपाले पनि विरोध जनाएपछि सरकारलाई थप सकस भएको छ ।