जनयुद्ध नभएको भए नेपाल कहाँ पुग्थ्यो:पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। ३० वर्षअघि भएको सशस्त्र संघर्षको सम्झनामा उनले जनविश्वास र जनमतको सम्मान गर्दै समाज रूपान्तरणका बाँकी कार्यहरू पूरा गर्न जिम्मेवारी आफूहरूको काँधमा आएको बताएका छन्।
प्रचण्डले सशस्त्र संघर्षका कारण मुलुकमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए। उनले जनताको उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको पनि उल्लेख गरे।
"हामी एक विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामा सहभागी भयौं र इतिहासमा पहिलोपटक नेपाली जनताको अधिकारलाई संविधानमार्फत संस्थागत गर्न सफल भयौं," प्रचण्डले भने। उनले राज्यको पुनर्संरचना र समृद्धि, न्याय, समानताका लागि आधार तयार भएको कुरा पनि जोड दिए।
"हाम्रो नियत कहिल्यै खोट थिएन, यथास्थितिमा बस्न चाहेनौं। हामी नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौं," उनले थपे।
प्रचण्डले शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइते भएका व्यक्तिहरूप्रति सम्मान प्रकट गरे।
अध्यक्ष दाहालले वर्तमान पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि प्राप्त गर्यो भन्ने बारे सोच्न आग्रह गर्दै भने, "त्यो समयमा सामन्ती शोषण थियो, विभेद र उत्पीडनका कारण प्रतिरोधको आवश्यकता नै जनयुद्धको रूपमा प्रकट भएको हो।"