ठमेलको भविष्य संकटमा: चिनियाँ प्रभाव बढ्दै, स्थानीय व्यापारीहरूको ठूलो विरोध

चिनियाँ व्यापारिक अतिक्रमणको विरोधमा राष्ट्रिय एकता अभियानले आज ठमेलमा विशाल रैलीको आयोजना गर्यो। "स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!" भन्ने नारासहित आयोजित यस विरोध र्यालीमा ठमेलका सैकडौं व्यापारीहरूको सहभागिता थियो।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शनमा सहभागीहरूले "ठमेलको तिब्बतीकरण बन्द गर!", "स्थानीय व्यापार जोगाऊ, विदेशी प्रभाव हटाऊ!", "ठमेल हाम्रो, व्यापार पनि हाम्रो!" लगायतका जोशिला नारा लगाएका थिए। रैलीमा अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी र केन्द्रीय सदस्य मनीष पुर्वे पनि उपस्थित थिए।
अध्यक्ष यादवले रैलीको समापन समारोहमा भने, "ठमेल हाम्रो प्रमुख पर्यटकीय र व्यापारिक केन्द्र हो, तर यहाँ चिनियाँ प्रभाव बढ्दै गइरहेको छ। यसले स्थानीय व्यापारलाई विस्थापित बनाइरहेको छ।" उनले चिनियाँ व्यापारिक प्रभुत्वको विस्तारलाई रोक्न र ठमेलको मौलिकता जोगाउन सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको स्पष्ट पारे।
यादवले चेतावनी दिएका छन् कि यदि चीनको व्यापारिक अतिक्रमण रोकिएन भने स्थानीय व्यापारीहरूका लागि यहाँ व्यवसाय गर्न कठिन हुने र उनीहरूको विस्थापन सम्भव हुने छ। उनले भने, "नेपालको पहिचानलाई मेट्न नदिने हाम्रो संकल्प छ।"
यस प्रदर्शनमा सहभागी व्यापारीहरूले चिनियाँ व्यवसायीहरूको प्रभावले नेपाली उद्यमीहरूलाई विस्थापित गरिरहेको भन्दै सरकारलाई कडा कदम चाल्न आह्वान गरेका छन्। प्रदर्शन शान्तिपूर्ण तरिकाले सम्पन्न भए पनि, सहभागीहरूले संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
चिनियाँ व्यापारिक अतिक्रमण