ललिता निवास घोटाला: १७५ जना विरुद्ध मुद्दा, के भट्टराई-नेपाल उम्किन सक्छन्?

राजधानीको बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतको ऐतिहासिक आदेश आउन सक्ने संकेत मिलेको छ। पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालसहित तत्कालीन मुख्य सचिव लीलामणि पौडेलमाथि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा फैसला आउने सम्भावना छ।
यस विषयमा सर्वोच्च अदालतमा आज १८औँ पटक सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा रहेको यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि नबढाएपछि सर्वोच्च अदालतसम्म पुगेको हो।
यसअघि २०७९ कात्तिक १५ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले आदेश दिन तय गरे पनि जबरामाथि महाभियोग लागेपछि फैसला स्थगित भएको थियो। उता, तत्कालीन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, र सचिवहरू दीप बस्न्यात, दिनेश अधिकारीसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।
अब सर्वोच्चको आदेशले ललिता निवास प्रकरणमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।