सुदूरपश्चिम प्रदेशको ऐतिहासिक सफलता: देशभरका उत्कृष्ट प्रदेश र स्थानीय तहको खुलासा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार सुदूरपश्चिम प्रदेश यस वर्ष उत्कृष्ट साबित भएको छ। सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थानमा प्रवेश गरेको हो।
अघिल्लो वर्ष पाँचौँ स्थानमा रहेका सुदूरपश्चिमले यस वर्षको मूल्याङ्कनमा राम्रो सुधार गर्दै शीर्ष स्थानमा काबिज भएको हो। कोशी प्रदेश यस पटक दोस्रो स्थानमा रहेको छ, जसले ५०.९ अंक हासिल गरेको छ।
अंकका आधारमा, बागमती प्रदेश ४५.६ अंकका साथ तेस्रो, कर्णाली प्रदेश ४१.६ अंकका साथ चौथो, गण्डकी प्रदेश ४०.८ अंकका साथ पाँचौँ, लुम्बिनी प्रदेश ३५.९ अंकका साथ छैटौँ र मधेश प्रदेश ३० अंकका साथ पुछारमा रहेको छ।
स्थानीय तहको कार्यसम्पादनमा डडेल्धुराको अमरगढी नगरपालिका ८१.७ अंक ल्याएर पहिलो स्थानमा रहेको छ। त्यसपछि इलामको सूर्योदय नगरपालिका (८०.२ अंक), अर्घाखाँचीको सन्धीखर्क नगरपालिका (८०.१ अंक), स्याङ्जाको कालीगण्डकी गाउँपालिका (७८.२ अंक) र आँधीखोला गाउँपालिका (७८ अंक) उत्कृष्ट पाँचमा रहेका छन्।
महानगरपालिकामा भरतपुर महानगरपालिका ७६.२ अंकका साथ पहिलो स्थानमा रहेको छ। विराटनगर ७३.५ अंकका साथ दोस्रो, ललितपुर ६६.७ अंकका साथ तेस्रो, काठमाडौं ५४.३ अंकका साथ चौथो, पोखरा ५१.५ अंकका साथ पाँचौँ र वीरगञ्ज ४३.१ अंकका साथ छैटौँ स्थानमा रहेको छ।
यस मूल्याङ्कनमा शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकम, संकलित कर र अन्य सूचकहरूको आधारमा कार्यसम्पादनको मूल्याङ्कन गरिएको हो।