समाचार

मधेश प्रदेश सरकारविरुद्ध जनकपुरमा गरियो मसाल जुलुस, भ्रष्टाचार र अकर्मण्यताप्रति जनताको गम्भीर विरोध

मधेश प्रदेश सरकारविरुद्ध जनकपुरमा गरियो मसाल जुलुस, भ्रष्टाचार र अकर्मण्यताप्रति जनताको गम्भीर विरोध

जनकपुरधाम – मधेश प्रदेश सरकारको असफलता र भ्रष्टाचारविरुद्ध राष्ट्रिय एकता अभियान, मधेश प्रदेश समितिको नेतृत्वमा विशाल मसाल जुलुस प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले सरकारको दुरुपयोग, अकर्मण्यता र भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका छन्।

मनीष पुर्वे र पंकज झा लगायतका नेता र कार्यकर्ताहरूको अगुवाइमा बिहीबार बिहान भानु चौकबाट सुरु भएको जुलुसले जनकपुरका प्रमुख सडकहरू घेर्दै जनकचौकमा कोणसभा आयोजना गर्‍यो। प्रदर्शनकारीहरूले "विकास कहाँ छ, बजेट खा गेलहु!", "भ्रष्टाचार गर, सरकार हटाउन ललकार!", "हाम्रो कर, हाम्रो अधिकार - मधेशको विकास गर सरकार!" जस्ता नारासहित सरकारको नकारात्मक कार्यशैलीको विरोध जनाए।

आन्दोलनमा मधेश प्रदेश सरकारको ५.६१% मात्र बजेट खर्च गरेको तथ्यलाई प्रमुख मुद्दाको रूपमा प्रस्तुत गर्दै प्रदर्शनकारीहरूले प्रदेश सरकारको नाकामीलाई सार्वजनिक गरेका छन्। यस आर्थिक वर्षको तुलनामा सरकारको कार्यसम्पादन अझै कमजोर भएको भन्दै आन्दोलनकारीहरूले भ्रष्टाचार र अयोग्य नेतृत्वको आलोचना गरेका छन्।

मधेश प्रदेशका नेताहरूलाई आफ्नो विलासितामा रमाएर जनताको पीडा बेखबर भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले विकासका क्षेत्रमा भएका अनगिन्ती समस्याहरू र अपूर्ण योजनाहरूको कुरा उठाए।

साथै, पर्चामा उठाइएका प्रश्नहरूको उत्तर चाहिँदै आन्दोलनकारीहरूले सरकारसँग पारदर्शिता, बजेटको सही प्रयोग र जनहितका योजना अघि बढाउनका लागि दबाब दिएका छन्। अब उनीहरूले सरकारलाई चेतावनी दिइरहेका छन् कि यदि तत्काल सुधारका कदम नउठाइए भने आन्दोलन अझ कडा बनाइने छ।

सचेत नागरिकहरूको यो आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि मधेश प्रदेश सरकारमाथि ठूलो दबाब सिर्जना गरिरहेको छ। "अब मधेश बचाउनु छ! अब सुशासन ल्याउनु छ!" भन्ने नारासहित आन्दोलनकारीहरूले आगामी दिनमा थप कडा आन्दोलनको चेतावनी दिएका छन्।