समाचार

विदेशी लगानीको बाढी, नेपालमा पर्यटन क्षेत्रमा मात्रै १७ अर्बको प्रतिबद्धता

विदेशी लगानीको बाढी, नेपालमा पर्यटन क्षेत्रमा मात्रै १७ अर्बको प्रतिबद्धता

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताको आकर्षण पर्यटन उद्योगतर्फ तीव्र रूपमा बढ्दै गएको छ। उद्योग विभागका अनुसार साउनदेखि माघसम्म १६८ वटा नयाँ उद्योग खोल्न विदेशी लगानी प्रस्ताव गरिएको छ।

विशेष गरी पर्यटन क्षेत्रमा मात्र १७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ, जुन कुल विदेशी लगानी प्रतिबद्धताको ६५ प्रतिशत हो। समग्रमा सात महिनामा नेपालमा २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

सेवा क्षेत्रमा ५ अर्ब ६९ करोडको प्रतिबद्धतासहित दोस्रो स्थानमा छ। उत्पादनमूलक क्षेत्रमा २ अर्ब १२ करोड, सूचना प्रविधि क्षेत्रमा ८० करोड र पूर्वाधारमा १२ करोडको प्रतिबद्धता आएको छ। तर, खनिज उद्योगका लागि भने कुनै पनि प्रस्ताव दर्ता नभएको उद्योग विभागले जनाएको छ।

यस अवधिमा स्वचालित (अटोमेटिक रुट) प्रणालीबाट २ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ। गत वर्ष लागू गरिएको अनलाइन आवेदन प्रणालीले लगानी स्वीकृत प्रक्रियालाई सहज बनाएको छ।

वैदेशिक लगानीकर्ताले सात महिनामा ८ अर्ब ५३ करोड रुपैयाँ नाफा फिर्ता लगेका छन्, जसमा नेपाली रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र युरो समावेश छन्।

सात महिनामा मात्र १० हजारभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष व्यावसायिक भिसामा नेपाल आउने विदेशी लगानीकर्ताको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।

नेपालमा विदेशी लगानीको आकर्षण बढेसँगै पर्यटन क्षेत्र थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा विदेशी लगानी