समाचार

माधव नेपालको सरकारप्रति गम्भीर आरोप: दलाल पुँजीपति र विचौलियालाई पोस्ने काम गर्दैछ सरकार!

माधव नेपालको सरकारप्रति गम्भीर आरोप: दलाल पुँजीपति र विचौलियालाई पोस्ने काम गर्दैछ सरकार!

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । ‘६ वटा अध्यादेश ३० वटा कानूनमा संशोधन यसको पछाडि राम्रो नियत देखिँदैन । भूमि सम्बन्धी ऐनको बारेमा चर्चा भइसकेको छ,’ उनले भने, ‘त्यसैगरी मिडियासँग जोडिएको नियन्त्रण गर्न खोज्ने नियत पनि स्पष्ट भइसकेको छ । यि सबै कुराको सन्दर्भमा भन्ने हो भने जसरी दलाल पुँजीलाई, विचौलियालाई पूरै पोस्ने काम सरकारले गर्न खोजिरहेको छ । यसको पनि तपाईंहरुले भण्डाफोर गर्नुपर्छ । ’

उनले समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बनेको उनको आरोप छ ।

उनले भने– ‘समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानूनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बन्न पुगेको छ । संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद नै छलेर, संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ ।’

अध्यक्ष नेपालले आफूहरुले विपक्षी दलहरुलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरुले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए ।