नेपाल-भारत सहकार्यको ठूलो कदम, उदयपुरमा ३.७९ करोडको नयाँ विद्यालय भवन उद्घाटन

उदयपुर – नेपाल र भारतको साझेदारीमा, भारत सरकारले ३.७९ करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गर्दै उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको उद्घाटन गरेको छ।
आइतबार, नेपाली कांग्रेसका नेता डा. नारायण खड्का, भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत निर्माण भएको यो विद्यालय भवन नेपाल र भारत बीचको मजबूत र जीवित विकास साझेदारीको उत्कृष्ट उदाहरण रहेको भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले बताए।
उद्घाटन समारोह पछि, सहभागिहरूले भारत सरकारले नेपाली जनताको लागि गरेको यस प्रकारको विकास सहयोगको उच्च प्रशंसा गरे। यो परियोजनाले केवल विद्यालय भवनको निर्माणमा मात्रै होइन, शिक्षा क्षेत्रको समग्र विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यस परियोजनामा भारत सरकारको अनुदानमा निर्माण गरिएको विद्यालय भवनले विद्यालयका ५०० विद्यार्थीलाई उत्तम शिक्षा प्रदान गर्ने वातावरण तयार पार्नेछ। यसरी, नेपाल र भारतको साझेदारीले समग्र शिक्षा क्षेत्रमा सुधार ल्याउने अपेक्षासमेत गरिएको छ।
श्री जनता बेलका माध्यमिक विद्यालय, बेलका नगरपालिका स्थित पुरन्दहमा रहेको एकमात्र माध्यमिक विद्यालय हो, जसको स्थापना सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा भएको थियो।