पोखरा भ्रमण वर्षको उद्घाटन हर्सोल्लासमा, तर एकैछिनमै भयावह मोड लियो

पोखरा – गत वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरिएको पोखरामा शनिबार भव्य रूपमा ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन गरिँदै थियो। पोखराका ३३ वटै वडाबाट आएका र्याली, झाँकी, र जातीय पोसाकमा सजिएका सहभागीसहितको जुलुस प्रदर्शनी केन्द्रमा भेला भइसकेको थियो। सबैजना २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनासहित भ्रमण वर्ष घोषणाको औपचारिक क्षण प्रतीक्षा गरिरहेका थिए।
कार्यक्रम औपचारिक रूपमा सुरु भएपछि प्रमुख अतिथि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भ्रमण वर्षको लोगो अनावरण गर्न आमन्त्रण गरियो। अर्थमन्त्री पौडेलले इलेक्ट्रिक स्विच अन गरे, मेयर आचार्यले सहजीकरण गरे। माहोल उत्सवमय थियो। कार्यक्रमलाई थप भव्य बनाउन ‘कोल फायर’ प्रज्ज्वलित गरियो।
तर, रमाइलो माहोल एकाएक त्रासमा परिणत भयो!
बेलुन उडाउने तयारी हुँदै गर्दा, हाइड्रोजन ग्यास भरिएका बेलुनहरू कोल फायरको झिल्कामा परे। अचानक ठूलो विस्फोट भयो। आतिथिहरू तितरबितर भए। उपस्थित सबैजना आत्तिए। विस्फोटका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहार र हात जले। घाइते भएकै अवस्थामा उनीहरूलाई तुरुन्तै अस्पताल पठाइयो।
मेयर आचार्यलाई फिस्टेल अस्पतालमा र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो। कीर्तिपुर अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार दुवैको अनुहारमा जलेको भाग ५-६ प्रतिशत भए पनि, श्वासप्रश्वासमा असर पर्ने जोखिम रहेकाले उनीहरूलाई विशेष निगरानीमा राखिएको छ।
विशेषज्ञहरूका अनुसार हाइड्रोजन ग्यास अत्यधिक ज्वलनशील हुने भएकाले यस्तो घटना हुन सक्ने थियो। महानगर प्रवक्ता मोतीलाल तिम्सिनाले बेलुन कोल फायरको झिल्कामा परेपछि विस्फोट भएको पुष्टि गरे।
यता, पोखराको नागरिक समाजले समारोहमा पटाका र आतिशबाजी प्रयोग नगर्न माग गरेको छ। सामाजिक सञ्जालमा पनि यस दुर्घटनाप्रति चासो देखाइएको छ, र यस्ता घटनाबाट पाठ सिक्दै भविष्यमा सुरक्षा सतर्कता अपनाउनुपर्ने सुझाव आएका छन्।
पोखरा महानगरपालिकाले भ्रमण वर्ष अवधिभर पर्यटन प्रवर्धनका लागि १९ सदस्यीय मूल समारोह समिति, ४३ वटा विभिन्न क्षेत्रका उपसमितिहरू, र एक कार्यसम्पादन समिति गठन गरिसकेको छ। चीन सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिसकेको छ भने भारतले पनि नेपाललाई वेलनेस पर्यटनका लागि प्रमुख गन्तव्यका रूपमा सूचीबद्ध गरिसकेको छ। पोखराले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर यस भव्य कार्यक्रमको उद्घाटनमै देखिएको सुरक्षा कमजोरीले पर्यटन प्रवर्धन रणनीतिप्रति गम्भीर प्रश्न उठाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य