समाचार

सर्वसाधारणका लागि एम्बुलेन्स छैन, नेताका लागि हेलिकप्टर?:सांसद कंसाकार

सर्वसाधारणका लागि एम्बुलेन्स छैन, नेताका लागि हेलिकप्टर?:सांसद कंसाकार

काठमाडौं – नेपालमा आगलागीको घटना र त्यसबाट हुने जलनका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले सरकारलाई पूर्व तयारीको अभावप्रति सचेत गराइन्। उनले अघिल्लो शनिबार खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी भएको उल्लेख गर्दै भाग्यवश मानवीय क्षति नभएकोमा ध्यान दिनुपर्ने बताइन्।

त्यस्तै, हिजो शनिबार पोखरामा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनाप्रति पनि उनले ध्यानाकर्षण गराइन्। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको छ।

सांसद कंसाकारले केही दिनअघि काठमाडौंको कमलपोखरीस्थित ‘शानदार मम सेन्टर’ मा भएको ग्यास विस्फोटलाई स्मरण गराउँदै घटनामा चार जनाको ज्यान गएको उल्लेख गरिन्। उनले सर्वसाधारणलाई उद्धारका लागि एम्बुलेन्स समेत नपाएर गाडीको हुडमा राखेर अस्पताल पुर्‍याउनु परेको पीडादायक अवस्थाको चर्चा गरिन्।

‘साधारण नागरिक जल्दा एम्बुलेन्ससम्म पाइँदैन, तर मन्त्री र मेयरलाई हेलिकप्टरमा उद्धार गरिन्छ। के नेपालमा विपद् व्यवस्थापन सबैका लागि समान छैन?’ उनले सरकारको नीति र तयारीमाथि प्रश्न उठाइन्।

नेपालमा आगलागी नियन्त्रण र जनसुरक्षाका लागि प्रभावकारी उपायहरू आवश्यक रहेको बताउँदै उनले ‘थिंक सेफ्टी, डू सेफ्टी’ को नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइन्।

सांसद कंसाकारले आफूले संसदमा सात महिनाअघि जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गरिसकेको तर अहिलेसम्म त्यसलाई अघि नबढाइएको भन्दै आक्रोश व्यक्त गरिन्। नेपालमा वार्षिक ६० हजारदेखि ६५ हजार नागरिक जलनको शिकार हुने तथ्यांक प्रस्तुत गर्दै उनले सरकारलाई आपतकालीन उद्धार प्रणाली, दक्ष जनशक्ति, र जलन उपचार केन्द्रको स्थापनामा ध्यान दिन आग्रह गरिन्।

‘जलन विधेयक पारित गरौं, जलन उपचार केन्द्र स्थापना गरौं र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाऔं,’ उनले सरकारलाई आग्रह गरिन्।

सांसद बिन्दवासिनी कंसाकार