प्रकृति लम्साल मृत्यु प्रकरण: ९३ नेपाली विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किए!

काठमाडौं - भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनाव र विवादका कारण नेपाली विद्यार्थीहरूको स्वदेश फर्कने क्रम बढेको छ।
आइतबार प्रकृतिको मृत्यु भएपछि विद्यार्थीहरूलाई जबर्जस्ती कुटपिट गरेर क्याम्पसबाट निकालिएको थियो। यस घटनापछि विद्यार्थीहरू विभिन्न नाकाहरू हुँदै नेपाल फर्किन थालेका छन्।
पर्साको वीरगञ्जस्थित रक्सौल नाका हुँदै गएरातिदेखि आज दिउँसोसम्म ९३ जना विद्यार्थी नेपाल प्रवेश गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, यी विद्यार्थीहरू बारा, पर्सा र काठमाडौँका रहेका छन्।
यसअघि, विराटनरतर्फको नाकाबाट पनि केही विद्यार्थी स्वदेश फर्किएका थिए। क्याम्पस प्रशासनले माफी मागेर विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ, तर विद्यार्थीहरू भने अझै फर्केका छैनन्।
प्रहरीले फर्किएका विद्यार्थीलाई घरसम्म पुर्याएको जानकारी पनि दिएको छ।