ओडिसामा नेपाली विद्यार्थीको मृत्युपछि परराष्ट्रमन्त्रीको कूटनीतिक दबाब

काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि घटेका घटनाबारे ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग फोनमा गम्भीर कुराकानी गरेकी छन् ।
डा. राणा देउवाले मन्त्री सुरजसँग लम्सालको मृत्युको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै त्यहाँका नेपाली विद्यार्थीहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा पढाइको व्यवस्था गर्न पनि आग्रह गरिन्।
भारतीय मन्त्री सुरजले घटनालाई ओडिसा सरकारले गम्भीर रूपमा लिएको र उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिए। उनले नेपाली विद्यार्थी र अभिभावकहरूलाई थप सहयोग र परामर्शका लागि एक विशेष हेल्पलाइन स्थापना गरिएको र जसको मार्फत उनीहरूलाई सहयोग पुर्याइने बताए। साथै, उनले घर फर्किएका विद्यार्थीहरूलाई होस्टलमा फर्काएर शिक्षा जारी राख्ने व्यवस्था गरिएको पनि स्पष्ट पारे।
सुरजले विश्वविद्यालयका एक कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही सुरु गरिएको र नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणमा होस्टलमा रहन र पढ्नको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी पनि दिए।
कुराकानीको क्रममा, मन्त्री सुरजले भारत र नेपाल बीचको विशेष सम्बन्धको महत्वलाई जोड दिँदै भने कि यो सम्बन्ध भविष्यमा पनि यथावत् र सुमधुर रहनेछ।
यस घटनासँग सम्बन्धित परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीहरूसँग लगातार सम्पर्क राख्दै समन्वय गरेर समस्याको समाधान गर्ने प्रयास गरिरहेका छन्।
नेपाली राजदूतावासको कूटनीतिक प्रयासपछि केआईआईटीले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी माग्दै होस्टलमा फर्किनका लागि अपील गरेको छ। यसका साथै, नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कारबाही गरिएको जानकारी पनि प्राप्त भएको छ।