समाचार

डेटएक्सपायर माओवादी फेरि ब्युँझियो,ओलीलाई मोदीको कडा चुनौती: प्रचण्डलाई कारबाही गर्ने हिम्मत छ?

डेटएक्सपायर माओवादी फेरि ब्युँझियो,ओलीलाई मोदीको कडा चुनौती: प्रचण्डलाई कारबाही गर्ने हिम्मत छ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वले पूर्वी नेपालमा माओवादीको प्रभाव पुनः मजबुत हुँदै गएको बताएका छन्। बुढीगंगा गाउँपालिका कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले पूर्वलाई प्राथमिकता दिएकै कारण उपनिर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउन सफल भएको दाबी गरे।

गजुरेलका अनुसार, पार्टीलाई ‘डेटएक्सपायर’ भनेर गिज्याउनेहरू अहिले मौन बसेका छन्। उनले भने, "२३८ सिटबाट खुम्चिएर ३८ मा पुगेपछि प्रतिक्रियावादीहरूले माओवादीलाई समाप्त भइसक्यो भने, तर अध्यक्ष प्रचण्डले प्राथमिकता दिन थालेपछि हाम्रो शीर फेरि उँचो भएको छ।"

पूर्वमन्त्रीसमेत रहेका गजुरेलले अब माओवादी केन्द्रलाई पछाडि फर्कने ठाउँ नरहेको बताउँदै २०८४ को चुनावमा पहिलो पार्टी बनाएरै छाड्ने उद्घोष गरे। उनले कार्यकर्तालाई संगठन निर्माणमा अहोरात्र खट्न आग्रह गर्दै आफूलाई समेत अब थकान महसुस नहुने बताउनुभयो।

गजुरेलले स्वीकार गरे कि २०६४ मा पहिलो दल बनेको माओवादी मतदाता असन्तुष्ट भएकै कारण अहिले तेस्रो स्थानमा झरेको छ। तर, अब तराई-मधेसमा सञ्चालन हुने हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान माओवादी पुनरागमनको प्रमुख आधार बन्ने उनको दाबी छ।

फागुन १२ गतेदेखि झापाको केचनाकवलबाट सुरु भई कञ्चनपुरसम्म चल्ने जागरण अभियानमा अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरू एक महिनासम्म जनतासँगै रहनेछन्। गजुरेलका अनुसार, "पार्टीलाई पहिलो बनाउने संकल्पसहित प्रचण्ड कहिले केराको पातमा त कहिले बाटोमै भक्का खाएर पनि जनतासँग भेटिरहेका छन्।"

"प्रचण्डलाई कारबाही गर्ने हिम्मत छ? ओलीलाई मोदीको कडा चुनौती"
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिँदै प्रचण्डलाई ‘भण्डाफोर गर्ने’ धम्की नदिन आग्रह गरेका छन्। मोरङ-४ का सांसदसमेत रहेका मोदीले प्रधानमन्त्री ओलीलाई खुला चुनौती दिँदै भने, "हिम्मत भए गरेर देखाउनुस्!"

उनले प्रश्न गरे, "यदि प्रचण्डले गलत काम गरेका छन् भने कारबाही गर्न रोकेको छ? केवल धम्की दिएर हुँदैन, जे गर्नुछ, गरेर देखाउनुपर्छ!"

गिरीबन्धु जग्गा प्रकरण लगायतका ठूला भ्रष्टाचार मुद्दा छानबिन गरेरै छाड्ने अठोट व्यक्त गर्दै मोदीले सरकारलाई सुशासनको नाममा केवल मुख चलाएर नबस्न आग्रह गरे। उनले आरोप लगाए कि प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारको ठूला फाइल खोलिएको थियो, तर अहिलेको सरकारले ती मुद्दाहरू दबाएको छ।

उनले थपे, "यदि साँच्चै सुशासन ल्याउने हो भने ती फाइलहरू खोल्न हिम्मत देखाउनुपर्छ। प्रचण्डलाई धम्क्याएर सत्तामा टिक्न खोज्ने खेल बन्द गर्नुपर्छ।"

नेपालको राजनीतिक मञ्चमा माओवादी फेरि बलियो हुने संकेत देखिँदै गर्दा, ओली र माओवादीबीचको यो तिक्तताले आगामी चुनावी माहोललाई अझ रोचक बनाउने देखिन्छ।

 प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल