एमसीसीमा हस्ताक्षर गर्ने को ? सांसद शाहीको प्रश्नमा कार्कीको झन्नै चर्को जवाफ

काठमाडौं – सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कोठा नम्बर ४०२ मा बिहीबार बिहान अर्थ समितिको बैठक चलिरहेको थियो। बैठकको एजेण्डा भन्सार कानुनको संशोधन र एकीकरणसँग सम्बन्धित छलफल थियो।
यस बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेहरूप्रति व्यङ्ग्य गर्दै बोल्न थाले। शाहीले एक पुरानो गीतको उदाहरण दिंदै अमेरिकी परियोजनासँग जोडिएको व्यंग्यात्मक टिप्पणी गरे, "अमेरिका जाऔँ, चीन जाऔँ ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ... अमेरिकाले चिलिम देखाइदियो, अब देश छोडेर भागौँ भन्ने भाछ।"
शाहीले एमसीसी परियोजनामा नेपालले झण्डै २१ खर्ब रुपैयाँ फंसेको, आधाभन्दा बढी खर्च भइसकेको, र पाँच तारे होटलमा कार्यालय खुलेको जस्ता मुद्दाहरू उठाउँदै सरकारबाट जवाफदेहीता माग गरे। उनले नेपालका जनताले चिया खाने पैसासम्म कटौती गरेर तिरेको राजस्वको बारेमा सरकारलाई जवाफ दिनुपर्ने कुरा जोड दिए।
सांसद शाहीले नेपाली जनताको पैसाको हिसाब माग्दै राष्ट्र बैंकसँग अमेरिकी सहायता रकमको विवरण जुटाएर अर्को समितिको बैठकमा पेश गर्न आग्रह गरे। उनले भने, "हाम्रो पैसा खेर गयो नि, आयोजना योजनाहरू लथालिङ्ग छन्।"
सांसद शाहीका ती प्रश्नमा भने, ज्ञानेन्द्रबहादुर कार्कीले सीधा जवाफ दिए। उनले शाहीका प्रश्नका बीचमा छिटो जवाफ दिँदै भने, "सिग्नेचर गर्ने म हो।" कार्कीको जवाफपछि शाही हाँस्दै भने, "तपाईं पनि यहीँ हुनुहुँदो रहेछ। यो पैसा खेर जसरी गएको छ, यसको जवाफ माग्छु।"