समाचार

"भारतमा नेपाली छात्राको रहस्यमयी मृत्यु! सरकार हेरिरहेछ,सरकारका लागि सस्तो राजनीति महत्त्वपूर्ण कि नागरिकको सुरक्षा?"

"भारतमा नेपाली छात्राको रहस्यमयी मृत्यु! सरकार हेरिरहेछ,सरकारका लागि सस्तो राजनीति महत्त्वपूर्ण कि नागरिकको सुरक्षा?"

नेपाल आजसँगको विशेष संवादमा सामाजिक अभियन्ता हेमराज थापाले भारतको केआईआईटी विश्वविद्यालयको छात्रावासमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमयी मृत्युबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले नेपाली राजनेताहरूलाई भारतसँगको सम्बन्ध बिग्रने डरले चुप नलाग्न आग्रह गर्दै न्यायको लागि तत्काल पहल गर्न चेतावनी दिएका छन्।

थापाले दुई तिहाइको सरकारलाई मित्रराष्ट्रसँगको कूटनीतिक सम्बन्ध जोगाउने भन्दा आफ्नै नागरिकको न्याय सुनिश्चित गर्न प्राथमिकता दिन आग्रह गरे। उनले भने, "यदि सरकार मौन बस्छ भने नेपाली युवाहरू आफैं अघि बढेर न्यायको लडाइँ लड्नेछन्।"

उनले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि भइरहेको विभेद र दबाबको कडा आलोचना गरे। "हाम्रो विद्यार्थीहरू विदेशी भूमिमा हेपिन बाध्य छन्, मर्न बाध्य छन्। यसको मुख्य कारण नेपालमै गुणस्तरीय शिक्षाको अभाव हो," थापाले बताए।

भ्रष्टाचार र नेताहरूको बेवास्ता

थापाले नेपालको राजनीतिक स्थिरता र शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै भ्रष्टाचारप्रति गम्भीर प्रश्न उठाए। उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा, तथा शेरबहादुर देउवालाई कटाक्ष गर्दै भने, "यी नेताहरू देशको अर्थतन्त्र सुधार्ने बहानामा आफ्नै ढुकुटी बलियो बनाउन व्यस्त छन्।"

डोनाल्ड ट्रम्पले नेपाललाई दिएको आर्थिक सहयोग ठगी मात्र रहेको स्पष्ट पारेपछि, थापाले भने, "नेपालका भ्रष्ट नेताहरूको वास्तविक हैसियत अब खुल्दै गएको छ।"

सरकारको दोहोरो मापदण्ड

राजनीतिक नेतृत्वको कमजोरी र प्राथमिकताको असमानताबारे उनले गहिरो आक्रोश पोखे। "जनताको समस्या लिएर जाने मेयर हर्क साम्पाङलाई भेट्न प्रधानमन्त्रीलाई फुर्सद छैन, तर टिकटकरहरूलाई भेट्न समय छ," उनले टिप्पणी गरे।

सरकारको उदासीनताको अर्को उदाहरण दिँदै थापाले भने, "सानो बेलुन पड्किँदा अर्थमन्त्रीलाई हेलिकप्टरबाट उद्दार गरिन्छ, तर कमलपोखरीस्थित होटलमा ग्यास विस्फोट हुँदा सर्वसाधारणलाई एम्बुलेन्ससमेत दिइँदैन!"

निर्मला पन्त प्रकरण: अपराधी कहिले पक्रिने?

थापाले कञ्चनपुरका गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै भने, "गृहमन्त्री कञ्चनपुरका हुन्, तर निर्मला पन्तका बलात्कारी अझै पक्रिएका छैनन्!" उनले अपराधीहरूलाई संरक्षण गर्ने प्रवृत्तिमाथि कडा शब्दमा टिप्पणी गरे।

सिंहदरबार र बालुवाटारभित्रको भ्रष्टाचार

अन्त्यमा, थापाले नेपालको प्रमुख भ्रष्टाचार सिंहदरबार र बालुवाटारभित्र नै रहेको आरोप लगाए। उनले भने, "जब नेतृत्व नै भ्रष्ट हुन्छ, तब न्यायको अपेक्षा गर्नु व्यर्थ हुन्छ।"

थापाले सरकारलाई अब पनि मौनता त्याग्न र तुरुन्तै न्यायका लागि ठोस कदम चाल्न आग्रह गरे। यदि सरकार चुप लागिरह्यो भने नेपाली युवाहरू सडकमा उत्रिने चेतावनी पनि दिए।

सामाजिक अभियन्ता हेमराज थापा