समाचार

प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार,विद्यार्थीहरू त्रासमा

प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार,विद्यार्थीहरू त्रासमा

भैरहवा – भारतको केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि मध्यराति नै गरिएको छ। आइतबार छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको थियो।

बुधबार भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म हवाईमार्गबाट ल्याइएको उनको शव त्यसपछि सडकमार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै भैरहवा पुर्‍याइयो। राति नै शवलाई भैरहवामा परिक्रमा गराइ स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको थियो। अन्तिम संस्कारमा केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी, उनका आफन्त तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

विद्यार्थीहरू त्रासमा, विश्वविद्यालय फर्किन अस्वीकार
यस घटनापछि केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थी गहिरो मानसिक तनावमा छन्। विश्वविद्यालय प्रशासनले उनीहरूलाई फिर्ता आउन आग्रह गरिरहे पनि सुरक्षाको प्रत्याभूति नभएसम्म भारत नफर्किने उनीहरूको स्पष्ट अडान छ। कलेज प्रशासनले अभिभावक तथा विद्यार्थीलाई फोन र पत्रमार्फत फर्कन आग्रह गरे पनि कुटपिट गर्ने सुरक्षागार्ड, बाउन्सर तथा दुर्व्यवहार गर्ने वार्डेनविरुद्ध कारबाही नभएसम्म फर्किन नसक्ने उनीहरूको भनाइ छ।

फेब्रुअरी २८ बाट हुने परीक्षा सार्नुपर्ने माग राख्दै नेपाली विद्यार्थीहरूले कलेज प्रशासनसमक्ष आग्रह गरेका छन्। हाल भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने नेपाल सरकारले पीडित विद्यार्थीको न्यायका लागि पहल गरिरहेको छ।

प्रकृति लम्साल