"भारत सरकारको ठूलो प्रतिबद्धता: नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न २४ घण्टा हेल्पलाइन र सम्पर्कमा!"

काठमाडौँ। भारत सरकारले ओडिशाको भुवनेश्वरस्थित कालागंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको दुखद मृत्युमा गहिरो दुःख व्यक्त गर्दै, उनका परिवार र नेपाली विद्यार्थीहरूको सुरक्षामा पूर्ण प्रतिबद्धता जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा, "हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई सबैभन्दा ठूलो प्राथमिकता दिन्छौं।" भनेका थिए। उनले थपे, "घटना भएदेखि नै ओडिशा सरकार, किटका अधिकारीहरू र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्क राखिरहेका छौं।"
जैसवालले घटनामा संलग्नलाई पक्राउ गर्ने र त्यसको छानबिन गर्न उच्चस्तरीय समितिको गठन गरिएको जानकारी पनि दिए। उनले, "नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि २४ घण्टा हेल्पलाइन सेवा उपलब्ध गरिएको छ र ओडिशा सरकारले उनीहरूको फिर्ता र शैक्षिक सहभागिता सुनिश्चित गर्न काम गरिरहेको छ।"
भारत सरकारका प्रवक्ता जैसवालले भने, "भारतमा रहेका नेपाली विद्यार्थीहरूलाई हामी हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण हिस्सा मान्छौं। उनीहरूको सुरक्षा र कल्याणका लागि भारत सरकारले सबै उपाय अपनाउनेछ।"