समाचार

वामदेव गौतमको सल्लाह: पूर्वराजालाई राजनीति गर्दै प्रधानमन्त्री बन्न आग्रह

वामदेव गौतमको सल्लाह: पूर्वराजालाई राजनीति गर्दै प्रधानमन्त्री बन्न आग्रह

काठमाडौं - राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न र प्रधानमन्त्री बन्नका लागि दल खोलेर निर्वाचन आयोगमा दर्ता गर्न सुझाव दिएका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले शाहलाई फेरि राजा बन्ने चाहना त्याग्न र प्रजातान्त्रिक दल स्थापना गरेर आगामी २०८४ को चुनावमा सहभागिता जनाउन आग्रह गरेका हुन्।

“तपाईं फेरि राजा बन्ने चाहना त्यागेर आफ्नो नेतृत्वमा एउटा नयाँ राजनीतिक दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुहोस्,” गौतमले भनें, “तत्पश्चात, २०८४ को चुनावमा भाग लिई संसदबाट प्रधानमन्त्री भएर नेपालको समृद्धि र विकासमा योगदान दिनुहोस्।”

यसै क्रममा, पूर्वराजाले फागुन ७ को शुभकामना दिने क्रममा अब नयाँ विकल्पको आवश्यकता रहेको बताएका थिए। उनले दलहरूले पूर्वसहमति सम्झौतासम्म पुगेर देशको समस्याबाट मुक्ति दिन आफूलाई अघि सार्नुपर्ने धारणा व्यक्त गरेका थिए। यस टिप्पणीपछि संसदका दुवै बैठकमा कडा प्रतिक्रिया र बहस भइरहेको छ।