सुदूरपश्चिम खप्तड सेवा समाज चितवन गठन

चितवन - सुदूरपश्चिम प्रदेशमा मूल घर भई चितवनमा विभिन्न पेशा, व्यवसाय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संलग्न रहेका सुदूरपश्चिमेलीलाई एकताको सूत्रमा बाँध्दै साझा मञ्चको रूपमा स्थापित गर्ने उद्देश्यले सुदूरपश्चिम खप्तड सेवा समाज चितवन नामक संस्था गठन गरिएको छ।
चितवनमा बसोबास गर्ने सुदूरपश्चिमका नेपालीहरूको समस्यालाई सम्बोधन गर्दै यहाँका चाडपर्व, देउडा तथा मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले जीवन रावलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा डम्बर रोकाया, सचिवमा डम्बर शाही, कोषाध्यक्षमा भरत रावल चयन भएका छन् । साथै, अन्य पाँच जना सदस्यसहित समिति पूर्णता पाएको छ ।
संस्था दर्ता ऐन २०३४ अन्तर्गत विधान तयार पार्दै यस समाजले अन्य जिल्लाका समुदायको सामुदायिक विकासलाई समेत सहिष्णुतापूर्वक कार्यक्रमको आधार बनाउने उद्देश्य लिएको छ ।
समाजले सुदूरपश्चिमको मौलिक परम्परा, चाडपर्व, सनातन धर्मलाई निरन्तरता दिने, आपसी भावनात्मक निकटता कायम गर्दै भाइचाराको सम्बन्ध प्रगाढ बनाउने तथा सम्पूर्ण समाजको उत्थान र समुन्नतिका लागि विभिन्न लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । यसै माध्यमबाट देश विकासको मूल प्रवाहमा समाहित हुने प्रयोजन रहेको छ ।
सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थल प्रवर्द्धनमा पहल
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको सीमाना क्षेत्रमा अवस्थित जिल्ला केन्द्रमा रहेको खप्तडलाई मध्यनजर गर्दै सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित समिति गठन गरिएको छ । साथै, चितवनमा बसोबास गर्ने सुदूरपश्चिमका नेपालीहरूको समस्यालाई सम्बोधन गर्दै यहाँका चाडपर्व, देउडा तथा मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।
समितिले सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार - प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना बनाएको छ । साथै, चितवनमा रहेका सुदूरपश्चिमेली समुदायका लागि विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने लक्ष्य राखिएको छ । समितिका पदाधिकारीहरूले सुदूरपश्चिमका संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समाजका संस्थापक अध्यक्ष जीवन रावलले सुदूरपश्चिमेली समुदायको पहिचान, परम्परा तथा संस्कृतिको जगेर्ना गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताए । उनले चितवनमा दर्ता भएको यो सुदूरपश्चिमेलीहरुको पहिलो आधिकारिक संस्था भएको दाबी गरे । साथै, नव गठित संस्थाले सबै सुदूरपश्चिमेलीलाई एकताबद्ध गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।