समाचार

चीनमा विवाह दर ऐतिहासिक रूपमा गिरावट, आर्थिक संकट र सरकारी नीतिले युवाहरूलाई विवाहबाट टाढा राख्दै

चीनमा विवाह दर ऐतिहासिक रूपमा गिरावट, आर्थिक संकट र सरकारी नीतिले युवाहरूलाई विवाहबाट टाढा राख्दै

 चीनमा विवाह गर्ने दर लगातार घट्दै गइरहेको छ, जसको मुख्य कारण सरकारको कठोर नीति, बढ्दो आर्थिक अस्थिरता र सामाजिक तनाव रहेको देखिन्छ। २०२४ मा चीनमा विवाह गर्ने जोडीहरूको संख्या २०.५ प्रतिशतले घटेको छ, जुन पछिल्लो ४५ वर्षमा सबैभन्दा कम हो। चीनको नागरिक मामिला मन्त्रालयका अनुसार २०२४ मा मात्र ६० लाखभन्दा कम जोडीहरूले विवाह गरे, जुन २०२३ को तुलनामा १५.८ लाखले कम हो।

२०१३ मा चीनमा १.३ करोड जोडीहरूले विवाह गरेका थिए, तर ११ वर्षपछि यो संख्या आधाभन्दा बढी घटेर ऐतिहासिक न्यून बिन्दुमा पुगेको छ। अर्कोतर्फ, सम्बन्धविच्छेदको दर भने निरन्तर बढिरहेको छ। २०२४ मा २६.२ लाख जोडीहरूले सम्बन्धविच्छेद गरे, जुन अघिल्लो वर्षको तुलनामा २८ हजारले बढी हो।

विवाह दरमा आएको यो गिरावट केवल व्यक्तिगत छनोटको कारण नभई चीनको बिग्रँदो सामाजिक संरचना र आर्थिक कठिनाइका कारण एक "अनिवार्य विकल्प" बनेको छ। चीन हाल विश्वकै उच्च मुद्रास्फीति र महँगो जीवनयापन हुने देशहरूमध्ये एक मानिन्छ। विशेषज्ञहरूका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को नीतिले नागरिकहरूको जीवनमा गहिरो असर पार्दै आएको छ। उच्च कर, महँगो आवास, शिक्षा तथा स्वास्थ्य सेवाको अभावले गर्दा मानिसहरू आफ्नो भविष्य प्रति अनिश्चित महसुस गरिरहेका छन्, जसले विवाह गर्ने निर्णयलाई पनि प्रभावित गरेको छ।

अधिकांश नागरिकहरूले जीवनभर सामाजिक सुरक्षाको वास्तविक सुविधा पाउँदैनन्। सरकार विवाह, परिवार, र सन्तान जन्माउने जस्ता व्यक्तिगत निर्णयहरूमा हस्तक्षेप गर्छ, जसले गर्दा युवाहरू विवाह र पारिवारिक जीवनको परम्परागत अवधारणाबाट टाढा भइरहेका छन्। साथै, कमजोर अर्थतन्त्र पनि विवाह दर घट्नुको प्रमुख कारण बनेको छ।

बेरोजगारीको उच्च दरका कारण धेरै युवाहरू आफ्नै खर्च धान्न असमर्थ छन्। विश्वविद्यालयबाट स्नातक गरेपछि पनि रोजगारी पाउन गाह्रो भएकाले धेरै युवाहरू अभिभावकहरूसँग बस्न बाध्य छन्। म्यारील्याण्डस्थित इनफरमेटिक्स एन्ड स्ट्राटेजिज इन्स्टिच्युटका एक अर्थशास्त्रीका अनुसार, आर्थिक अवस्था विवाह दरमा प्रत्यक्ष रूपमा प्रभाव पार्छ।

चीनका धेरै कम्पनीहरू संकटमा छन् वा टाट पल्टिरहेका छन्। अस्थिर आम्दानी तथा रोजगारीको सुरक्षामा अनिश्चितताको कारणले युवाहरू विवाह गर्ने निर्णय लिन हिचकिचाइरहेका छन्। २०२५ मा आर्थिक अवस्था अझै कमजोर हुने अनुमान गरिएको हुँदा विवाह दरमा अझै गिरावट आउने सम्भावना छ।

चीन विश्वकै तीव्र रूपमा वृद्ध हुँदै गएको समाजहरूमध्ये एक बन्दै गएको छ। सन् २००० देखि २०२३ सम्म चीनमा ६० वर्षभन्दा माथिका नागरिकहरूको संख्या १२.६ करोडबाट २९.७ करोड पुगेको छ, जसले कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको छ।

चीनको एक-सन्तान नीतिले वर्तमान जनसंख्या संरचनामा गम्भीर असर पार्दै आएको छ। १९७९ देखि २०१५ सम्म लागू गरिएको यस नीतिले लाखौं जबरजस्ती गर्भपतनहरू गरायो, जसका कारण लैंगिक अनुपातमा असन्तुलन देखा परेको छ। विवाहलाई प्रोत्साहन गर्न तथा सम्बन्धविच्छेदलाई कठिन बनाउन विभिन्न सरकारी प्रयास भए तापनि ती प्रभावकारी साबित भएका छैनन्।

७५ वर्षदेखि कम्युनिस्ट शासनमा रहँदै आएको चीन अहिले गम्भीर सामाजिक र जनसांख्यिकीय संकटतर्फ अघि बढिरहेको देखिन्छ। विवाह दर निरन्तर घट्दै गएको छ भने जन्मदरमा पनि ठूलो गिरावट आएको छ। सम्बन्धविच्छेद दर उच्च भएकोले परिवारिक स्थायित्व कमजोर बन्दै गएको छ।

सरकारले विवाहलाई प्रवर्द्धन गर्नका लागि अनेक उपायहरू अपनाए तापनि तिनले कुनै उल्लेखनीय प्रभाव पार्न सकेका छैनन्। विश्लेषकहरूका अनुसार आर्थिक संकट, उच्च जीवनयापन खर्च, बेरोजगारी तथा सरकारले अपनाएको नियन्त्रणवादी नीतिका कारण युवाहरू विवाह र परिवार स्थापना गर्ने निर्णयबाट पछि हटिरहेका छन्।

यदि यो प्रवृत्ति यस्तै रह्यो भने, आगामी ५ देखि १० वर्षभित्र चीनको श्रम शक्ति तथा सरकारी आर्थिक स्रोतहरूमा ठूलो दबाब पर्नसक्ने चेतावनी विज्ञहरूले दिएका छन्।