समाचार

फास्ट ट्रयाक घोटाला! चिनियाँ कम्पनीले १ करोड २० लाख नतिरेपछि नेपाली ठेकेदारहरू प्रशासन गुहार्न बाध्य

फास्ट ट्रयाक घोटाला! चिनियाँ कम्पनीले १ करोड २० लाख नतिरेपछि नेपाली ठेकेदारहरू प्रशासन गुहार्न बाध्य

हेटौंडा–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा संलग्न नेपाली पेटी ठेकेदारहरू ठगिएका छन्। चिनियाँ निर्माण कम्पनी पोली चाङदा इञ्जिनियरिङले उनीहरूलाई करिब १ करोड २० लाख रुपैयाँ भुक्तानी नदिएपछि उनीहरू जिल्ला प्रशासन कार्यालय, मकवानपुर पुगेर उजुरी दिन बाध्य भएका छन्।

पोली चाङदा इञ्जिनियरिङले प्याकेज नम्बर २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१ र मकवानपुरगढी गाउँपालिका–१ मा माटो कटानको ठेक्का लिएको थियो। स्थानीय ठेकेदारहरूले लेनडाँडा र चालिसेडाँडामा काम गरे पनि अहिलेसम्म भुक्तानी पाएका छैनन्।

ठेकेदारहरूको बाँकी रकम यस प्रकार छ:

  • जिएलबी कन्स्ट्रक्सन: ४० लाख
  • बी एण्ड बी कन्स्ट्रक्सन (सोमबहादुर तिम्सिना): १८ लाख
  • अभिनाश ढुवानी सेवा (सुमन दाहाल): १८ लाख
  • जय गौरी शंकर कन्स्ट्रक्सन (प्रेमबहादुर मोक्तान): १३.८४ लाख
  • कालीदेवी कन्स्ट्रक्सन: १०.०७ लाख
  • आर्यतारा कन्स्ट्रक्सन (राजीव घलान): ८.३० लाख
  • बी एण्ड बी कम्पनी (ख) ग्रुप: ५ लाख

त्यसैगरी, चिनियाँ कम्पनीसँग ५ लाखभन्दा कम भुक्तानी पाउन बाँकी रहेका ठेकेदारको संख्या एक दर्जनभन्दा बढी रहेको छ।

ठगीमा परेको गुनासो गर्दै स्थानीय ठेकेदारहरू न्यायको खोजीमा प्रशासनसम्म पुगेका छन्। राष्ट्रिय गौरवको आयोजनामा नै यस्तो आर्थिक अन्याय भएपछि ठेकेदारहरूले सरकारसँग हस्तक्षेपको माग गरेका छन्।