तोसिमाले सोधिन्- जनतालाई गोली ठोकेर कस्तो विकास गर्न खोजेको ?

ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध चर्किंदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाउँदै तत्काल निर्माण रोक्न माग गरेको छ। आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तोसिमा कार्कीले सरकारको अकर्मण्यताको आलोचना गर्दै आन्दोलनरत पक्षसँग वार्ता गरी समाधान खोज्न आग्रह गरिन्।
सरकारको दमनमाथि रास्वपाको प्रश्न
डा. कार्कीले आन्दोलनकारीमाथि भएको दमनको विरोध गर्दै उनीहरूलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरिन्। ‘बारम्बार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदै आएको छ, गोलीसमेत चलेको छ, करोडौंको क्षति भएको छ। हिजो मात्रै क्षेत्र अस्थिर रह्यो, निषेधाज्ञा लगाइएको छ। तर, सरकारले समस्याको समाधान खोज्न सकेको छैन,’ उनले भनिन्।
उनले सरकारलाई सम्झौताप्रति प्रतिबद्ध रहन चेतावनी दिँदै भनिन्, ‘विकासको नाममा जनतालाई गोली हान्ने प्रवृत्ति स्वीकार्य हुँदैन। जनताको सहमतिबिना जबर्जस्ती संरचना निर्माण गर्नु अन्यायपूर्ण छ। बारम्बार सम्झौता भएर पनि कार्यान्वयन नहुनु सरकारको गैरजिम्मेवारीपन हो।’
स्थानीय प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा
केबलकार निर्माणविरुद्धको आन्दोलन तीव्र बनेपछि प्रशासनले आइतबार बिहान ५ बजेदेखि फुङलिङ बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थिति तनावपूर्ण बनेपछि शान्ति सुव्यवस्था कायम गर्न निषेधाज्ञा लागु गरिएको हो। शनिबार साँझ प्रहरी र ‘नो केबलकार’ पक्षबीच झडप भएपछि प्रशासनले कठोर कदम चालेको हो।
सांसद तोसिमा कार्की