कभर स्टोरी

नेपालमा एन्टिबायोटिकको दुरुपयोगः 'औषधि होइन, चकलेटझैँ बाँडिँदैछ'

नेपालमा एन्टिबायोटिकको दुरुपयोगः 'औषधि होइन, चकलेटझैँ बाँडिँदैछ'

काठमाडौं – नेपालमा एन्टिबायोटिक औषधिको प्रयोग र दुरुपयोगबारे गम्भीर बहस भइरहेका बेला चिकित्सा क्षेत्रका विज्ञहरूले यसबारे चिन्ता व्यक्त गरेका छन्। कल्किज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट का अध्यक्ष डा. उमाशंकर प्रसाद को प्रस्तुतीमा आयोजित नेपाल आजको ज्ञानतन्त्र बहस कार्यक्रममा चिकित्सा विज्ञ डा. प्रताप अधिकारी ले एन्टिबायोटिक औषधिको असरबारे चर्चा गर्दै यसको अनियन्त्रित प्रयोगले भयावह अवस्था निम्त्याउने चेतावनी दिएका छन्।

कडा एन्टिबायोटिकको बढ्दो प्रयोग

डा. अधिकारीका अनुसार नेपालमा सामान्य खालका एन्टिबायोटिकले काम नगर्ने अवस्था आएको छ, जसका कारण चिकित्सकहरू अझ कडा औषधि दिन बाध्य भएका छन्।
"एन्टिबायोटिक ब्याक्टेरियाविरुद्ध लड्न प्रयोग गरिन्छ, तर अहिलेको अवस्था यस्तो छ कि कडा खालका एन्टिबायोटिकले पनि प्रभावकारी नतिजा दिइरहेको छैन," उनले भने।

उनले अनुभव सुनाउँदै थपे, "नेपालमा सबै प्रकारका औषधिहरू उपलब्ध छन्। तर जब बिरामीलाई इन्फेक्सन हुन्छ, त्यो बेला सबैभन्दा कडा औषधिले पनि राम्रोसँग काम नगर्ने अवस्था देखिएको छ।"

अनुचित प्रयोगले मृत्यु दर बढ्दै

डा. अधिकारीका अनुसार शल्यक्रियाका क्रममा एन्टिबायोटिकको भूमिका अपरिहार्य भए पनि यसको सही प्रयोग आवश्यक छ।
"ठूलो शल्यक्रियामा एन्टिबायोटिक एक डोज मात्र दिने गरिन्छ, जसको अधिकतम अवधि २४ घण्टा हुन्छ। तर नेपालका केही चिकित्सकले बिरामीलाई ४-५ दिनसम्म एन्टिबायोटिक सेवन गराउन लगाउने गरेका छन्, जसले बिरामीको स्वास्थ्य झन् जटिल बनाइदिन्छ," उनले भने।

उनका अनुसार अनावश्यक एन्टिबायोटिक सेवनकै कारण कतिपय बिरामीको मृत्यु समेत भइसकेको छ।
"इन्फेक्सन नियन्त्रण गर्न भन्दै जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा शरीरको प्रतिरोधात्मक क्षमता घट्छ। जसले गर्दा औषधि नै असर नगर्ने स्थिति आउँछ," उनले चेतावनी दिए।

फार्मेसीमा अनियन्त्रित बिक्री, कानुनी कठोरता आवश्यक

नेपालमा एन्टिबायोटिक औषधिहरू सहजै पाइने र जथाभावी बिक्री वितरण भइरहेको प्रति डा. अधिकारीले गहिरो चिन्ता व्यक्त गरे।
"फार्मेसीदेखि लिएर साना औषधि पसलसम्म जहाँ पनि एन्टिबायोटिक सजिलै पाइन्छ। तर यसको अनियन्त्रित बिक्री स्वास्थ्यका लागि खतरा बनेको छ। एन्टिबायोटिकलाई चकलेटझैँ बाँड्ने प्रवृत्ति तत्काल रोक्नुपर्छ," उनले भने।

उनले औषधि बिक्रीमा कडाइ गर्नुपर्ने माग गर्दै थपे, "डाक्टरको प्रिस्क्रिप्सनबिना कुनै पनि फार्मेसीले एन्टिबायोटिक बेच्न नपाउने व्यवस्था गर्नुपर्छ।"

स्वास्थ्य बीमा अनिवार्य गरिनुपर्छ

एन्टिबायोटिक दुरुपयोग न्यूनीकरणसँगै स्वास्थ्य सेवामा सुधार ल्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए। "नेपाल सबै नेपालीको साझा देश हो। यसको स्वास्थ्य प्रणाली सुधार गर्न हामी सबै लाग्नुपर्छ। स्वास्थ्य बीमा लागू गर्न सके मात्र आम नागरिकको उपचार सहज बन्नेछ," उनले भने।

डा. उमाशंकर प्रसादको प्रस्तुतीमा आयोजित यस बहसमा औषधिको अनियन्त्रित बिक्री, स्वास्थ्य प्रणाली सुधार, र एन्टिबायोटिकको दुरुपयोगबारे गहिरो बहस भएको थियो। अब सरकार र सरोकारवालाहरूले यसबारे गम्भीर ध्यान नदिए भयावह परिणाम भोग्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन्।