ऊर्जामन्त्री खड्काको कडा कदम, कुलमानलाई फेरि २४ घण्टे स्पष्टीकरणको आदेश

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरणको माग गरेका छन्। मंगलबार मन्त्री खड्काले एक निर्णय गर्दै घिसिङलाई तत्काल स्पष्टीकरण पेश गर्न आदेश दिएका छन्।
मन्त्री खड्काले कुलमानसँग नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा स्वीकृति प्राप्त प्रक्रियासमेत स्पष्टीकरण मागेका छन्। उनले प्रश्न गरेका छन्, "नेपाल सरकारको नियमावली अनुसार मन्त्रालयको सहमति बिना द्विपक्षीय वार्ता र सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कुलमानलाई कसरी प्राप्त भयो?"
त्यसैगरी, प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा खड्काले कुलमानलाई आन्तरिक भ्रमण, काज, बिदा, र अन्तर्राष्ट्रिय भ्रमणका बारेमा पनि स्पष्टीकरण दिन आदेश दिएका छन्। यसअघि पनि पुस महिनामा खड्काले घिसिङसँग ९ बुँदे स्पष्टीकरण मागेका थिए, जुन घिसिङको जवाफ असन्तोषजनक रहेको बताइएको छ।
खड्काले यसअघि १५ बुँदे र ६ बुँदे विवरण पनि मागेका थिए, र अब कुलमानलाई थप कडा कदम चालेको देखिन्छ।