भूमि अध्यादेशमा भयंकर खुलासा! संसदमा ठुलो घम्साघम्सी, जसपाको कडा चेतावनी

काठमाडौं । सरकारले संसदमा पेश गरेको भूमि अध्यादेशको चर्को विरोध गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। जसपा निकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विज्ञहरूको सहभागितामा उक्त अन्तरक्रिया आयोजना गर्न लागेको हो।
शुक्रवार दिउँसो, काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटको मैत्री हलमा हुने यस कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ताको रूपमा रहनेछन्। साथै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा जसपाका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्रसिंह यादव पनि मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्।
भूमि अध्यादेशको प्रभावलाई प्राविधिक दृष्टिकोणबाट व्याख्या गर्न अर्थशास्त्री तथा कानूनी विशेषज्ञहरूको समेत सहभागिता रहनेछ। विज्ञ वक्ताका रूपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव, नागेन्द्रप्रसाद यादव लगायतलाई निमन्त्रणा गरिएको छ।
जसपा नेपालले यसअघि नै भूमि अध्यादेशलाई अस्वीकार गर्ने औपचारिक निर्णय गरिसकेको छ। पार्टीका अनुसार, अध्यादेश पारित भए देशभर सार्वजनिक जग्गाको चरम दुरुपयोग हुने खतरा छ। जसपाको विरोधका कारण सरकारद्वारा प्रस्तुत ६ मध्ये भूमि सम्बन्धी अध्यादेश संसदमा अड्किएको छ।
यस अन्तरक्रिया कार्यक्रमले भूमि अध्यादेशको भविष्यबारे स्पष्ट संकेत दिने विश्वास गरिएको छ। सत्ता पक्ष र प्रतिपक्षबीच चर्को विवाद चलिरहेका बेला यो छलफलले संसदको गतिरोध अझ बढाउने संकेत गरेको छ।