नेपाल आर्थिक संकटतर्फ उन्मुख: टाट पल्टिनबाट जोगाउन अर्थशास्त्रीहरूको आपतकालीन अपिल! (वक्तव्यसहित)

काठमाडौं । नेपाल गम्भीर आर्थिक, सामाजिक तथा राजनीतिक संकटतर्फ उन्मुख भएको भन्दै ख्यातिप्राप्त अर्थशास्त्रीहरूले सरकारलाई सचेत गराएका छन्। उनीहरूले मुलुक टाट पल्टिनसक्ने खतरा रहेको बताउँदै, पुँजी पलायन र विचौलिया वर्गको वर्चस्वले आर्थिक स्थायित्व खतरामा परेको निष्कर्ष निकालेका छन्।
देश बचाउने उपाय के हो?
कल्किजम रिसर्च एण्ड ट्रेनिङले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अर्थशास्त्रीहरूले संकटको समाधानका लागि अघि सारिएको नयाँ अवधारणाको समर्थन गरे। उनीहरूले आर्थिक सुधारको मोडल अपनाए मुलुकको समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे।
शाक्यको चेतावनी – ‘अब निरीह बस्न मिल्दैन!’
प्रा. डा. कुशुम शाक्यले आर्थिक समस्या गहिरिँदै गएको भन्दै समाधान खोज्न सक्रिय हुनुपर्ने बताइन्। उनले भनिन्, ‘यो हाम्रो एकमुष्ट आवाज हो, तमाम नेपालीको आवाज हो। अब निरीह भएर बस्ने समय छैन, समाधान खोज्नैपर्छ।’
उनले आर्थिक वृद्धिका लागि पैसा चलायमान हुनुपर्नेमा जोड दिँदै क्यासलेस इकोनोमीलाई प्रवर्द्धन गर्नुपर्ने बताइन्। ‘पैसा जम्मा गरेर राख्ने होइन, यो चलायमान हुनुपर्छ। लगानीको वातावरण बनाए नेपाललाई विश्वकै नमूना बनाउन सकिन्छ,’ उनले भनिन्।
सञ्जय आचार्य: ‘शिक्षा, स्वास्थ्य, कानूनी सेवा निःशुल्क हुनुपर्छ!’
अर्थशास्त्री सञ्जय आचार्यले मुलुकको सामाजिक सुरक्षा प्रणालीलाई नगदमा आधारित भन्दा सेवामुखी बनाउनुपर्ने बताए। ‘शिक्षा, स्वास्थ्य र कानूनी सेवा निःशुल्क बनाउनुपर्ने प्रस्ताव एकदमै सराहनीय छ। भ्रष्टाचार रोक्न क्यासलेस अर्थतन्त्र आवश्यक छ,’ उनले भने।
घनश्याम दवाडी: ‘उत्पादकत्व बढाउन नीतिगत परिवर्तन जरुरी!’
अर्थशास्त्री घनश्याम दवाडीले नेपालको योजनामा विज्ञताको अभाव रहेको गुनासो पोखे। ‘विगतमा योजना बनाउँदा विज्ञताको अभाव थियो, तर अब निस्वार्थ भावनाले देशको समग्र विकासमा योगदान दिनुपर्ने बेला आएको छ,’ उनले बताए।
डा. उमाशंकर प्रसाद: ‘नेपालको अर्थतन्त्र क्रोनिक क्यापिटलिजमको चपेटामा’
डा. उमाशंकर प्रसादले नेपालको अर्थ व्यवस्था केही व्यक्तिहरूको प्रभावमा रहेको बताउँदै, मुलुक क्रोनिक क्यापिटलिजमको चपेटामा फसेको बताए। उनले भने, ‘सरकार बलियो बनाएर समाजवादी मोडेलतर्फ जान आवश्यक छ। पूर्ण रूपमा क्यासलेस अर्थतन्त्र लागू गरे भ्रष्टाचार नियन्त्रण हुनेछ, सरकारसँग पर्याप्त पुँजी रहनेछ, साथै शिक्षा, स्वास्थ्य, कानूनी सेवा निःशुल्क गर्न सकिन्छ।’
जय साहको चुनौती – ‘सरकार किन मौन छ?’
कल्किजम रिसर्च सेन्टरका संस्थापक जय साहले सरकारले नयाँ आर्थिक नीति ‘कल्कीवाद’ लागू गर्न नसकेको आरोप लगाए। उनले भने, ‘हाम्रो अवधारणाले मुलुकलाई टाट पल्टिनबाट जोगाउन सक्छ। यदि सही रूपमा कार्यान्वयन गरिए प्रत्येक वर्ष २० हजार नेपालीको ज्यान जोगाउन सकिन्छ, साथै शिक्षा, स्वास्थ्य र कानूनी सेवा सबैका लागि निःशुल्क हुन सक्छ। तर, सरकार र संयन्त्रहरू अझै पनि निष्क्रिय छन्।’
स्मार्ट करन्सी लागु हुनुपर्ने आवश्यकता: डा. अभिषेक अमर
पत्रकार सम्मेलनमा चिकित्सक डा. अभिषेक अमरले नेपालमा कल्किजम रिसर्च सेन्टरले प्रस्तुत गरेका धारणा लागू गर्नु आवश्यक भएको बताए। उनले स्मार्ट करन्सीको अवधारणा आम जनताले सजिलै बुझ्ने विश्वास व्यक्त गर्दै, यसका लागू हुने नतिजामा बाहिरबाट आउने रोगहरू नेपालमा प्रवेश गर्न नसक्ने बताएका छन्।