"राजाको पालामा नेपाल झन् गरिब थियो! सांसद रघुजी पन्तको राजावादीहरूलाई कडा हमला"

काठमाडौँ – नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई इतिहास अध्ययन गरेर मात्र बहस गर्न चुनौती दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा शाहीले विरोध जनाउने प्रयास गरेपछि पन्तले तीखो जवाफ फर्काए। उनले भने, “नेपाल दक्षिण एसियामै गरिब छ। राजतन्त्रकालमा झन् गरिब थियो। तपाईंहरू ‘राजावादी’ भन्दै जुलुस निकाल्नुहुन्छ, तर त्यहाँ देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश राख्नु देशभक्ति हो? यदि मैले पढेको इतिहास गलत हो भने प्रमाण लिएर आउनू।”
पन्तले राजा महेन्द्रकै शासनकालमा नेपालको चुच्चे नक्सा हराएको आरोप लगाए। "सक्रिय राजतन्त्रका कारण लोकतन्त्र मात्रै होइन, नेपालको भूगोलसमेत संकुचित बन्यो," उनले टिप्पणी गरे।
त्यस्तै, उनले ज्ञानेन्द्र शाहको शासनकालका विभिन्न विवादित घटनाहरू स्मरण गराउँदै अहिलेको संविधानले राजतन्त्रलाई अस्वीकार गरिसकेको बताए। "राजतन्त्र विशेषाधिकार हो, तर संसारको प्रवृत्ति गणतन्त्रतर्फ उन्मुख छ," उनले थपे।
राजनीति भ्रम र निराशाका आधारमा होइन, तथ्य, तर्क र यथार्थमा टिक्नुपर्ने उनको भनाइ छ। "केही समयका लागि भ्रम र निराशाको खेतीले जनतालाई झुक्याउन सकिएला, तर सधैँ होइन," पन्तले जोड दिए।
नेकपा (एमाले) सांसद रघुजी पन्त राप्रपाका सांसद ज्ञानेन्द्र शाही