जय शाहको अभियानले नेपाललाई बचाउने, अर्थशास्त्रीहरू भन्छन्— अब नगदरहित अर्थतन्त्र नै उपाय!

काठमाडौं । नेपालको आर्थिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै ख्यातिप्राप्त अर्थशास्त्री र चिकित्सकहरूले सरकारलाई चेतावनी दिएका छन्। शनिबार काठमाडौंको रिपोर्टर्स क्लबमा कल्किजम रिसर्च एण्ड ट्रेनिङ सेन्टर द्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका अर्थशास्त्रीहरूले शिक्षा, स्वास्थ्य र कानूनी सेवा निःशुल्क बनाउनु पर्ने, नगदरहित अर्थतन्त्र लागू गर्नु पर्ने, भ्रष्टाचार नियन्त्रणका लागि ठोस नीति आवश्यक रहेको लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।
नेपालको अर्थतन्त्र खतरामा?
नेपालआजसँग प्रत्यक्ष कुराकानी गर्दै अर्थशास्त्री प्रा. डा. कुशुम शाक्य ले नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको बताइन्। उनले भनिन्, “अर्थतन्त्रबिना संसार नै चल्दैन, त्यसैले यसको सुधारका लागि गहन अनुसन्धान आवश्यक छ। नेपालको अर्थतन्त्रलाई एकै शब्दमा नाजुक छ भन्न नमिल्ने भए पनि, यसको स्थायित्वका लागि नयाँ नीति र सुधार आवश्यक छ।”
यस्तै, अर्थशास्त्री घनश्याम दवाडी ले भने नेपालको अर्थतन्त्रलाई अझ प्रभावकारी बनाउन आफू अघि सरेको बताए। डा. प्रांशु नेपाल ले लगानीको वातावरण बिग्रिँदै गएको बताउँदै भने, “स्वदेशी लगानीकर्ताहरू अहिले नेपालमा लगानी गर्न डराइरहेका छन्। बैंकिङ प्रणाली, राजनीतिक नेतृत्व र संस्थाहरूमा जनताको विश्वास गुम्दै गएको छ। शिक्षा र स्वास्थ्यको अत्यधिक महँगीका कारण समान पहुँच सम्भव छैन।”
जय शाहको अवधारणामा अर्थशास्त्रीहरूको समर्थन
अर्थशास्त्री श्रीभद्र पण्डित ले जय शाहले अघि सारेको अभियानको समर्थन गर्दै नगदरहित अर्थतन्त्र, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने नीति नेपालमा मात्र नभई विश्वभर लागू हुन आवश्यक रहेको बताए।
अर्का अर्थशास्त्री बैकुण्ठ पाण्डे ले “कल्किजम रिसर्च सेन्टरको अवधारणा केवल जय शाहको होइन, यो सम्पूर्ण विज्ञहरूको साझा आवाज हो।” उनले जय शाहको योजनाबारे विगत दुई वर्षदेखि गहिरो छलफल भइरहेको र शाह अरू अभियन्ताहरूभन्दा फरक रहेको बताए। "उनको स्थिर अडान र दूरदृष्टि नै अभियानको मुख्य बल हो," उनले थपे।
शिक्षा, स्वास्थ्य, कानूनी सेवा निःशुल्क हुनुपर्ने माग
अर्थशास्त्री प्रा. डा. सञ्जय आचार्य ले शिक्षा र स्वास्थ्यको व्यापारिकरण रोक्नुपर्ने बताएका छन्। उनले भने, "भ्रष्टाचारले नेपाललाई धराशायी बनाउँदै लगेको छ। यसको नियन्त्रणका लागि नगदरहित अर्थतन्त्र जस्ता नवीनतम उपाय आवश्यक छन्। यस्ता सुधार एकैचोटि लागू नहुन सक्छन्, तर निरन्तर प्रयास गरे देश र जनताले गति पाउनेछन्।”
त्यस्तै, अर्थशास्त्री प्रमोद प्यारा श्रेष्ठ ले शिक्षा, स्वास्थ्य र कानूनी सेवामा आम नागरिकले ठूलो आर्थिक बोझ बेहोरिरहेको बताउँदै “यी सेवाहरू निःशुल्क हुन आवश्यक छ” भने। उनले नेपालमा मोबाइल भुक्तानी प्रणाली लोकप्रिय बन्दै गएकाले डिजिटल कारोबारलाई विस्तार गर्नुपर्ने बताए।
सरकार मौन किन?
अर्थशास्त्री बासुदेव खनाल ले संविधानमै शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताउँदै, "सरकारले यसलाई अब गम्भीर रूपमा लिनुपर्छ" भने। उनले जय शाहको अवधारणालाई सबै नेपालीको अभियान बनाउन आवश्यक रहेको बताए।
पत्रकार सम्मेलनमा चिकित्सक डा. अभिषेक अमर ले स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको बताउँदै "नेपालमा औषधिको गलत प्रयोगका कारण मृत्यु दर बढ्दै गएको छ, यसको न्यूनीकरणका लागि ठोस नीति आवश्यक छ" भने।
नेपालको आर्थिक अवस्था कल्किजम रिसर्च सेन्टर जय शाह