समाचार

राजावादीविरुद्ध एमाले आक्रामक: देशभर प्रदर्शन र जागरण सभा गर्ने तयारी

राजावादीविरुद्ध एमाले आक्रामक: देशभर प्रदर्शन र जागरण सभा गर्ने तयारी

काठमाडौं - सत्तारूढ नेकपा (एमाले) ले राजसंस्थाको पुनर्स्थापनाका पक्षमा भइरहेका गतिविधिलाई रोक्न देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। महासचिव शंकर पोखरेलले बिहीबार जिल्ला अध्यक्षहरूसँगको जुम बैठकमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

महासचिव पोखरेलले ‘जरा अभियान’ लाई थप सशक्त बनाउन जनपरिचालन अभियान सञ्चालन गरिने बताएका छन्। चैत ११ गते एमालेले देशभरका वडावडामा प्रतिगामी कुप्रयासबारे जनचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ।

देशव्यापी प्रदर्शन र जागरण सभा

एमालेले चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जनप्रदर्शन र जागरण सभा आयोजना गर्नेछ। यी जिल्लाहरूमा भने मोटरसाइकल र्‍याली गरिनेछ।

त्यस्तै, चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा गरिनेछ। काठमाडौं उपत्यकामा हुने सभा र अन्य केही विशेष कार्यक्रमको मिति पछि तोकिनेछ।

राजसंस्थाको पक्षमा भइरहेको आन्दोलनको प्रतिकार

पछिल्ला दिनहरूमा राजसंस्थाको पुनर्स्थापनाका लागि विभिन्न समुहहरू सक्रिय बनेका छन्। राप्रपा, नवराज सुवेदी समूह र दुर्गा प्रसाईं नेतृत्वमा छुट्टाछुट्टै संघर्षका कार्यक्रम अघि सारिएको छ।

विशेषगरी, फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनमा राजावादीहरूले गरेको प्रदर्शनपछि एमाले थप सतर्क बनेको देखिन्छ। यही कारण, एमाले संघीय लोकतान्त्रिक गणतन्त्रको बचावटका लागि प्रतिकार गर्न आन्दोलनमा उत्रिन लागेको हो। एमालेका यी कार्यक्रमहरू अहिले सञ्चालन भइरहेको ‘जरा अभियान’ लाई थप बलियो बनाउन केन्द्रित हुने नेताहरूले बताएका छन्।