समाचार

काठमाडौंमा भारतको २३औं गोल्डेन जुबिली छात्रवृत्ति दिवस सम्पन्न

काठमाडौंमा भारतको २३औं गोल्डेन जुबिली छात्रवृत्ति दिवस सम्पन्न

काठमाडौं, मार्च २०२५ – भारत सरकारद्वारा प्रदान गरिने गोल्डेन जुबिली छात्रवृत्ति योजनाको २३औं वार्षिकोत्सव भारतीय राजदूतावास, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा छात्रवृत्ति प्राप्त करिब २०० नेपाली विद्यार्थीहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा नेपाल विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. देव राज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमर प्रसाद यादव, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थापालिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम, बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि तथा कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति डा. शारदा थपलिया लगायत विभिन्न विश्वविद्यालयका डिन तथा विद्यालयका प्रिन्सिपलहरू उपस्थित थिए।

भारतीय राजदूत नवीन श्रीवास्तवले मेधावी विद्यार्थीहरूलाई ‘एम्बासडर गोल्डेन जुबिली छात्रवृत्ति रोल अफ अनर’ प्रदान गरे। उनले २३औं ब्याचका छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो क्षेत्रमै उत्कृष्टता हासिल गर्न प्रेरित गरे। साथै, भारतको स्टार्टअप इकोसिस्टम, इनक्युबेसन सेन्टरहरू तथा अन्य अवसरहरू उपयोग गरी आफ्नो भविष्य उज्जवल बनाउन आग्रह गरे।

छात्रवृत्ति योजनाबाट ७७ जिल्लाका हजारौं विद्यार्थी लाभान्वित
सन् २००२ मा भारत-नेपाल आर्थिक सहकार्यको ५०औं वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको गोल्डेन जुबिली छात्रवृत्ति योजना हाल वार्षिक २०० नेपाली विद्यार्थीहरूलाई प्रदान गरिन्छ। अहिलेसम्म नेपालका ७७ वटै जिल्लाबाट ३५०० भन्दा बढी विद्यार्थीहरू यस योजनाबाट लाभान्वित भइसकेका छन्। यस वर्ष ७५ जिल्लाका विद्यार्थीहरू छात्रवृत्तिका लागि छनोट भएका छन्, जसमा एक-तिहाइ छात्राहरू छन्। साथै, ३ जना फरक क्षमता भएका विद्यार्थीहरू समेत छात्रवृत्ति प्राप्त गर्ने सूचीमा परेका छन्।

प्रत्येक वर्ष, भारत सरकारले इन्जिनियरिङ, चिकित्सा, डेन्टल साइन्स, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, थिएटर तथा प्रदर्शन कलाका क्षेत्रमा १,५०० भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। यी छात्रवृत्तिहरू भारतका प्रतिष्ठित शिक्षण संस्थानहरूमा अध्ययन गर्न मात्र नभई नेपालभित्र स्नातक, स्नातकोत्तर तथा पीएचडी अध्ययन गर्न समेत सहयोगी छन्। सन् २००१ यता करिब ४०,००० नेपाली विद्यार्थीहरू भारत सरकारका विभिन्न छात्रवृत्ति योजनाबाट लाभान्वित भइसकेका छन्।

नेपाल-भारत शैक्षिक साझेदारी अझ सुदृढ
शैक्षिक सहकार्य, क्षमता विकास तथा शैक्षिक साझेदारीमार्फत भारत-नेपाल सम्बन्ध झन् मजबुत बन्दै गएको छ। नेपाली विद्यार्थीहरूको शिक्षा, अनुसन्धान र सीप विकास मा भारत सरकारले गरेको लगानीले नेपालका युवाहरूको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ। भारत-नेपालबीचको मित्रतालाई अझ गहिरो बनाउन शैक्षिक सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।