"विद्युत् सम्झौतादेखि ‘फेक’ नाफासम्म! यी हुन् कुलमान हटाउने ४ कारण"

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि मन्त्रिपरिषद्ले घिसिङमाथि चार प्रमुख आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। तर, सरकारले उनको जवाफ असन्तोषजनक ठहर गर्दै हटाउने निर्णय गरेको बताइएको छ।
घिसिङमाथि भारतसँग महँगो मूल्यमा विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमै विवरण नबुझाएको, शून्य अंक प्राप्त गरेको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको आरोप लगाइएको थियो।
सरकारले उठाएको चार आरोपको जवाफस्वरूप घिसिङले सातबुँदे स्पष्टीकरण दिएका थिए। उनले आफू निर्दोष रहेको दाबी गर्दै कुनै कारबाही नहुनुपर्ने स्पष्टिकरण दिएका थिए।
त्यस्तै, मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारद लुँइटेललाई नियुक्त गरेको छ। लुँइटेल यसअघि तारागाउँ विकास समितिको सदस्य सचिवका रूपमा कार्यरत थिए।