दैलेखको दुल्लूमा भारतीय सहयोगमा बहुउद्देश्यीय विद्यालय भवन निर्माण सुरु

काठमाडौं । दैलेख जिल्लाको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भारतको ३.९ करोड सहयोगमा निर्माण हुने भवन
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ९० लाख रुपैयाँ लागतमा बहुउद्देश्यीय भवन निर्माण हुन लागेको हो। साढे तीन तले उक्त भवनमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र लगायतका संरचना समावेश गरिनेछ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत दुल्लू नगरपालिकामार्फत यो परियोजना कार्यान्वयन गरिँदैछ।
स्थानीय सरोकारवालाद्वारा भारतीय सहयोगको प्रशंसा
कार्यक्रमका वक्ताहरूले भारत सरकारद्वारा प्रदान गरिंदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे। उनीहरूले नयाँ भवनले विद्यार्थीहरूलाई आधुनिक सिकाइको अवसर प्रदान गर्ने र दुल्लू राज्यको इतिहास तथा संस्कृतिबारे बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे। यसले कर्णाली प्रदेशमा शिक्षा र सांस्कृतिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
भारतद्वारा नेपालमा ५६३ विकास परियोजना सञ्चालन
भारत सरकारले सन् २००३ यता नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ, जसमा ४९५ परियोजना सम्पन्न भइसकेका छन्।
कर्णाली प्रदेशमै १५ वटा परियोजना सञ्चालनमा छन्। साथै, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार प्रदान गरिसकेको छ। कर्णाली प्रदेशमा मात्र ५० एम्बुलेन्स र ८ स्कूल बस उपलब्ध गराइएको छ।
भारत–नेपाल सम्बन्धमा थप सहकार्य
भारत र नेपालबीच ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा विकास साझेदारीको गहिरो सम्बन्ध रहँदै आएको छ। नेपाली जनताको जीवनस्तर सुधार्न तथा पूर्वाधार विकासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको भारतीय दूतावासले जनाएको छ।