समाचार

सप्तरीमा भारतीय सहायतामा विद्यालय भवन निर्माण सुरु

सप्तरीमा भारतीय सहायतामा विद्यालय भवन निर्माण सुरु

सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

 

नेपाल-भारत विकास सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको २.७६ करोड रुपैयाँ आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण भइरहेको छ। तीनतले भवन र आवश्यक सुविधाहरू निर्माण गर्न भारत सरकारले अनुदान प्रदान गरेको हो।

 

सन् १९५१ मा स्थापना भएको श्री जनता माध्यमिक विद्यालयमा हाल ६०० विद्यार्थी अध्ययनरत छन्, जसमा ६०% छात्रा छन्। भवन निर्माणपछि विद्यालयले अझ व्यवस्थित शिक्षा प्रदान गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।

 

भारत सरकारले २००३ यता नेपालभर ५६३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ, जसमा मधेश प्रदेशका ८२ परियोजना सामेल छन्। सप्तरीमा मात्र ९ परियोजना पूरा भइसकेका छन्। साथै, नेपालभरका अस्पताल, स्वास्थ्य चौकी, र विद्यालयलाई भारतले १००९ एम्बुलेन्स र ३०० स्कूल बस उपहारस्वरूप उपलब्ध गराएको छ।

 

नेपाल र भारतबीचको बहुआयामिक साझेदारी अझ मजबुत बनाउने उद्देश्यका साथ भारत सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको जनाएको छ। यस परियोजनाले सप्तरीको शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने र विद्यार्थीहरूलाई सिकाइका लागि उचित वातावरण सिर्जना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।