जापानी टापु नजिक चिनियाँ गतिविधिमा तीव्रता, टकरावको सम्भावना बढ्दै

जापानको योनागुनी टापु नजिकै चिनियाँ सैन्य गतिविधि तीव्र भएपछि टोकियो र बेइजिङबीचको तनाव फेरि चुलिएको छ। पछिल्लो समय चिनियाँ जहाजहरूले बारम्बार जापानी समुद्री क्षेत्र अतिक्रमण गर्नुका साथै हालै चिनियाँ सेनाले योनागुनी टापुनजिकै बायू (buoy) स्थापना गरेको देखिएको छ। यो कदमले जापानलाई सतर्क बनाएको छ र उसले अब सैन्य उपस्थिति मजबुत पार्न थालेको छ।
योनागुनी टापु ताइवानसँग नजिक छ र सम्भावित सैन्य संघर्षमा पहिलो मोर्चा बन्न सक्ने ठानिन्छ। यही कारणले जापानले यो क्षेत्रलाई सैन्य रूपमा सुदृढ बनाउने क्रम बढाएको छ। टापुमा हतियार प्रणाली स्तरोन्नति गरिँदै छ भने चिनियाँ गतिविधिको निगरानी पनि कडा पारिएको छ।
चिनियाँ बायू सतहमा साधारण देखिए तापनि विज्ञहरूका अनुसार यसले गहिरो रणनीतिक भूमिका खेल्न सक्छ—समुद्री धाराको गतिको अध्ययन, तापक्रम र गहिराइको नाप, र गुप्तचर कार्यका लागि प्रयोग हुनसक्ने चिन्ता छ। चीनले यसअघि अमेरिकामाथि प्रयोग गरेका बलुनहरू पनि निगरानीका लागि प्रयोग गरेको प्रमाणित भइसकेको छ।
सन् २०२० मा योनागुनी च्यानल हुँदै चिनियाँ युद्धपोतको यात्रा शून्य थियो, जुन २०२४ मा बढेर १८ पुगेको छ। २०२२ मा चीनले टापुनजिकै क्षेप्यास्त्र परीक्षण गर्दा स्थानीय माछा मार्ने संघका प्रमुखले “धेरै खतरनाक र चिन्ताजनक अभ्यास” भएको बताए।
२०२४ को सेप्टेम्बरमा चिनियाँ विमानवाहक पोत ल्याओनिङ दुई विध्वंसक युद्धपोतसहित योनागुनी नजिक देखिएको थियो। जापानका उपक्याबिनेट सचिव हिरोशी मोरिया भन्छन्, “यो जापानको सुरक्षा दृष्टिकोणबाट पूर्ण रूपमा अस्वीकार्य हो।”
ताइवानको राष्ट्रिय रक्षा विश्वविद्यालयका प्राध्यापक चेंग-कुन माका अनुसार चीन योनागुनी नजिकै जल सर्वेक्षण र पनडुब्बीविरोधी अभियान तीव्र पार्दैछ। यसको उद्देश्य आफ्नो क्षेत्रको सुरक्षालाई मजबुत बनाउनु हो। यसको प्रत्युत्तरमा जापानले पनि टापुमा व्यावस्थित मिसाइल प्रणाली तैनाथ गर्न थालेको छ।
चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्समा प्रकाशित एक विश्लेषकको भनाइमा, “जापानको यो कदमले द्विपक्षीय सम्बन्ध बिगार्नेछ र अनावश्यक संघर्षको जोखिम बढाउनेछ।”
टोकियोले टापुमा सुरक्षा व्यवस्थालाई मोबाइल, छरितो र स्पष्ट बनाउने नीति लिएको छ। Rear Admiral ताकुहिरो हिरागीले भने, “हामी ताइवान मात्र होइन, जहाँ आवश्यक छ त्यहाँ चीनको गतिविधिमा निगरानी गर्छौं।”
चीनले हालसम्म बायू हटाउन अस्वीकार गरेको छ। जापानमा यसको कडा आलोचना भइरहेको छ। संकेइ शिम्बुनजस्ता अखबारले अन्तर्राष्ट्रिय कानुन उल्लंघनमा स्थापित बायू तुरुन्त हटाउन र चीनसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन्।
यद्यपि चीनले योनागुनीमा दाबी नगरे पनि ताइवान र विवादास्पद सेनकाकु टापु नजिक भएकोले यो क्षेत्रमा उसले रणनीतिक चासो राखेको छ। टापुका मेयर केनिची इतोकाजुले चिनियाँ गतिविधि उक्साहटपूर्ण भएको भन्दै जापानी सरकारलाई कडा जवाफ दिन आग्रह गरेका छन्।
स्थानीय नागरिकहरू चिन्तित छन्। टाकाको युएनो नामक पसल मालिक भन्छिन्, “सधैं तनावको केन्द्रमा बस्नु अत्यन्तै पीडादायी छ।” जापानी अधिकारीहरूले भने, “चिनियाँ गतिविधि सूक्ष्म रूपमा हेर्नेछौं र आवश्यक सबै कदम चालिनेछ।” टापुलाई बलियो सुरक्षा सञ्जालले घेरिनुपर्ने मेयरको माग छ।