समाचार

वडाध्यक्षकै अनौठो आन्दोलन, सडकमै बसेर सेवा प्रवाह!

वडाध्यक्षकै अनौठो आन्दोलन, सडकमै बसेर सेवा प्रवाह!

कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै अनौठो शैलीमा आन्दोलन थालेका छन्। ठेकेदारको लापरबाही र पूर्वाधार विकास कार्यालयको ढिलासुस्तीले सडक निर्माण अलपत्र परेपछि उनले सडकमै टेबुल राखेर वडा कार्यालयको सेवा दिन थालेका छन्।

बंक–नायल–बुडर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको चार वर्ष बितिसक्दा पनि काम अघि नबढेपछि वडाध्यक्ष साउदले विरोधस्वरूप सडक प्रवेशद्वारमै कार्यालय सरेका हुन्। उनले कालोपत्र सुनिश्चित नहुँदासम्म सडकमै बसेर काम गर्ने अडान लिएका छन्।

सडकको अवस्था बेहाल, जनता हैरान
स्थानीय बासिन्दाहरू धुलाम्य सडकका कारण हैरान छन्। “खाल्डाखुल्डी टाल्ने बाहेक अरू केही भएको छैन, हरेक वर्ष यस्तै दोहोरिन्छ,” स्थानीय रामनाथले भने।

विकास कार्यालय प्रमुख योगेन्द्र अधिकारीका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरिएको छ। “ठेकेदारले आश्वासन मात्रै दिन्छ, काम गर्दैन। एक हप्ताभित्रै कार्य सुरु गर्ने वाचा गरेको छ,” उनले भने।

चार वर्षदेखि अलपत्र, ठेकेदारको बहाना
सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग २०७७ साउन २० गते ठेक्का सम्झौता भएको थियो। ८१ वैशाखमा म्याद सकिएपछि पुनः २०८२ चैत ३० गतेसम्मका लागि थपिएको छ। तर, अहिले पनि काम मात्र ३५ प्रतिशत सम्पन्न भएको छ।

रु ११ करोड ८६ लाखको ठेक्कामा सात किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि चार वर्षसम्म अलपत्र पर्नु लापरबाहीको ज्वलन्त उदाहरण हो। ठेक्काको म्याद थप्दै काम नगर्ने परिपाटी तोड्न वडाध्यक्ष साउदको आन्दोलन कत्तिको प्रभावकारी हुन्छ, त्यसलाई अबको समयले नै बताउनेछ।