समाचार

"बहुमत नआउला, तर सिट चाहिँ बढी जित्नुपर्छ!" – देउवाको कार्यकर्तालाई कडा निर्देशन

"बहुमत नआउला, तर सिट चाहिँ बढी जित्नुपर्छ!" – देउवाको कार्यकर्तालाई कडा निर्देशन

भैरहवा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने सम्भावना नरहेको स्वीकार्दै, यथासक्य बढी सिट जित्न कार्यकर्तालाई निर्देश गरेका छन्।

सोमबार भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले चुनावी रणनीति बलियो बनाउन नेता-कार्यकर्तालाई आग्रह गरे।

संवादमार्फत विवाद समाधान गर्नुपर्ने देउवाको सुझाव
पार्टीभित्र देखिएको मतभेदबारे बोल्दै उनले संवाद नै एकमात्र समाधान भएको बताए। "हाम्रो बीचमा मतभेद हुन सक्छ, केही असमझदारीहरू हुन सक्छन्, तर संवाद र छलफलमार्फत सबै समस्याहरू टुंग्याउनुपर्छ," उनले भने।

उनले पार्टीलाई ‘भाइब्रेन्ट’ बनाउन आन्तरिक एकता जरुरी रहेको बताउँदै सहकार्य भएमा कांग्रेस अझ बढी आकर्षक बन्ने दाबी गरे। "यसो गर्दा कांग्रेसप्रति देशभित्र र बाहिर आकर्षण बढ्छ," उनले थपे।

गठबन्धन सरकार सफल हुने दाबी
कार्यक्रममा देउवाले नेपाली कांग्रेस र एमालेसहितको गठबन्धन सरकार सफल हुने विश्वास व्यक्त गरे। साथै, नेपालको लोकतन्त्र अत्यन्त समावेशी रहेको बताउँदै यसको सुदृढीकरणमा कांग्रेसको भूमिका अपरिहार्य हुने धारणा राखे।