फूलले आत्मदाह गर्नुअघि

चन्दा पराजुली
मभित्रको अलिकति
सास रोकेर
अलिकति इच्छालाई खुम्च्याएर
भावनाको गीत पनि सुस्त गाएर
बचाउन खोजे मभित्रको मलाई ला
अहँ बचाउन सकिन
पढाइको सिलसिलामा
देशको सिमानाभन्दा अलिकति पर पुगेर
जिन्दगीको उज्यालो भविष्य खोजिरहेको बेलामा
अचानक आएको चैते हुरी झैँ
प्रेमको आगोले छातीमा कतिखेर डामेछ
पत्तो पाएन
मेरो दिमाग र हृदयले कति पनि
भारत होस् या पाकिस्तान
अमेरिका होस् या जापान
के प्रेमको नदी सुकाउने अधिकार कसैलाई छ र?
मायाको कल्पवृक्ष विनाश गर्ने हक देवतालाई पनि छ र?
के गरूँ
तर
नदीमा फोहोर भएपछि सङ्लिन नसके झैँ
अनवरत पीडाको आगोले डामेपछि
प्रेमको अन्त्य हुन
एउटा सल घाटीमा भए पुग्दो रहेछ
सोचेन त्यसबेला कुनै पनि हृदयको कानले
बाबुआमाले घर छोड्ने बेला दिनुभएको अर्ती
गुरुले बारम्बार घोकाउनुभएको नीतिका
श्लोक
कुनै अर्थ भएन ,
एकाएक लाग्यो पासो गलामा
थाहा भएन मेरो सुसाइड नोट
पुलिसले लग्यो वा लगेन ?
मलाई मृत्युको मुखमा पुर्याउने
धोखेबाज प्रेमीले सजाय पाउला वा नपाउला?
मलाई केही थाहा छैन
बस् यति थाहा छ
मेरो अब अन्तिम विकल्प
आत्मदाह! आत्मदाह ! आत्मदाह !