फेरि फुट्यो मेलम्चीको मुख्य पाइप, थापाथलीमा पानीको बाढी, ट्राफिक अस्तव्यस्त

काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ। पाइप विस्फोट भएपछि चोकको पूर्वतर्फको सहायक सडक डुबानमा पर्यो।
काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेड (केयुकेएल) ले पाइप फुटेको क्षेत्रको पानी आपूर्ति रोकिएको जनाएको छ। तर, सडक अझै अवरुद्ध छ।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलका अनुसार पाँच सय एमएमको मुख्य पाइप फुटेका कारण पानी सडकमा बग्यो। यकिन कारण भने खुल्न बाँकी रहेको छ। ‘लिक भएको भए छुट्टै कारण हुन्थ्यो, तर पाइप फुट्नु तेस्रो पक्षको संलग्नतासँग सम्बन्धित हुन सक्छ,’ पौडेलले भने।
यसअघि पनि माइतीघर–बानेश्वर सडक खण्डअन्तर्गत बबरमहल क्षेत्रमा यस्तै घटना भएको थियो। विद्युत प्राधिकरणले भूमिगत तार गाड्ने क्रममा पाइपमा क्षति पुर्याउँदा सडक नै भत्किएको थियो।
थापाथलीमा पुनः यस्तै समस्या दोहोरिएपछि मेलम्चीको पाइपलाइनको संरचना र यसको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।