युक्रेन संकटमा, ट्रम्प प्रशासनले रोक्यो सैन्य सहायता

काठमाडौं – अमेरिका र युक्रेनबीचको सम्बन्धमा नयाँ मोड आएको छ। अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता तत्काल रोक्ने निर्णय गरेको छ। ह्वाइट हाउसका एक अधिकारीका अनुसार सहायता प्रणालीको समीक्षा गरिने भएकाले अस्थायी रूपमा रोकिएको हो।
ट्रम्प–जेलेन्स्की विवादपछि सहायता रोकिने निर्णय!
यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको चर्को बहसपछि लिइएको बताइएको छ। युक्रेन–रुस युद्ध सुरु भएपछि अमेरिका नै युक्रेनलाई सैन्य सहायता दिने प्रमुख राष्ट्र हो। तर, अब अमेरिका युद्ध समाधानका लागि पुनरावलोकन गरिरहेको छ।
ट्रम्पको रणनीति – शान्ति कि दबाब?
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोका अनुसार राष्ट्रपति ट्रम्प नै एकमात्र नेता हुन्, जसले युक्रेन–रुस युद्धलाई स्थायी रूपमा अन्त्य गर्न सक्छन्। उनका अनुसार अमेरिका अहिले रुसलाई वार्ताको टेबलमा ल्याउने रणनीति बनाइरहेको छ।
ट्रम्पको कडा चेतावनी: जेलेन्स्की टिक्न सक्दैनन्!
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार दिएको बयानले युक्रेनमा तरंग ल्याएको छ। उनले स्पष्ट रूपमा भनेका छन्, ‘रुससँग युद्धविराम सम्झौताविना जेलेन्स्की लामो समय सत्तामा टिक्न सक्दैनन्।’ अब जेलेन्स्कीको आगामी कदम के हुनेछ?
युक्रेनको सैन्य सहायता अब अनिश्चित!
युक्रेनलाई अमेरिकाबाट तीन माध्यमबाट सैन्य सहायता प्राप्त हुँदै आएको छ—
- राष्ट्रपतिको सोझो आर्थिक सहायता।
- अमेरिकी विदेश मन्त्रालयको 'फरेन मिलिट्री फाइनान्सिङ'।
-'युक्रेन सिक्योरिटी असिस्टेन्ट इनिसिएटिभ'।
तर, अहिले यी सबै सहायता रोकिएको छ, जसले युक्रेनको युद्ध रणनीतिमा ठूलो प्रभाव पार्न सक्छ।
अब सबैको चासो यही छ— अमेरिकाले सहायता रोकेपछि युक्रेन–रुस युद्ध कसरी अगाडि बढ्छ? के ट्रम्प प्रशासनको यो रणनीति युद्ध अन्त्यतर्फको संकेत हो वा युक्रेनलाई थप दबाब दिने खेल?