समाचार

सरकार ढाल्ने खेलमा छैनौं, प्रचण्डको खुलासा: जति टिक्छ, माओवादीलाई फाइदा

सरकार ढाल्ने खेलमा छैनौं, प्रचण्डको खुलासा: जति टिक्छ, माओवादीलाई फाइदा

नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकार बदल्ने कुनै खेलमा नरहेको दाबी गरेका छन्। आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार टिके माओवादीलाई नै फाइदा हुने बताएका छन्।

"सरकारले के गरिरहेको छ भन्ने जनताले बुझ्दै गएका छन्। त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई त्यति नै फाइदा पुग्छ," प्रचण्डले भने। उनले आफ्नो पार्टी जनता केन्द्रित भएको भन्दै सरकार टिके पनि नटिके पनि आफूहरूलाई फरक नपर्ने संकेत गरे।

अध्यादेशमाथि प्रचण्डको कडा टिप्पणी!
प्रचण्डले सरकारले ल्याउन खोजेको अध्यादेशप्रति असन्तुष्टि जनाउँदै यसलाई अलोकतान्त्रिक अभ्यासको संज्ञा दिए। उनले संसद्बाट अध्यादेश पास हुने सम्भावना नरहेको दाबी गरे।

‘जनतासँग माओवादी’ अभियान: घरमै बास, स्थानीयसँग छलफल!
प्रचण्डले माओवादी केन्द्रले थालेको ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ले पार्टीलाई थप जीवन्त बनाएको दाबी गरे।

"हामी भाषण मात्रै गरेर फर्किने होइन, स्थानीय जनताका घरमा बस्छौं, उनीहरूकै खाना खान्छौं, समस्या सुन्छौं," उनले भने।

उनका अनुसार अभियानका क्रममा उठेका जनगुनासा, अपेक्षा र आवश्यकतालाई पार्टीले नीति निर्माणमा समेट्नेछ। साथै, सरकारलाई दबाब दिन पहल गर्ने र संसद्मा समेत आवाज उठाइने बताए।

राष्ट्रिय एकता बलियो बनाउने विश्वास
प्रचण्डले यो अभियानले राष्ट्रिय एकतालाई मजबुत बनाउन ठूलो भूमिका खेल्ने दाबी गरे। उनका अनुसार पार्टीले जनताको मन जित्ने रणनीतिमा लागेको छ, जसले राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने संकेत देखिएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’