विदेश

चीनबाट धनी व्यक्तिहरूको तीव्र पलायन, आर्थिक मन्दी र सरकारी कडाइ प्रमुख कारण

चीनबाट धनी व्यक्तिहरूको तीव्र पलायन, आर्थिक मन्दी र सरकारी कडाइ प्रमुख कारण

काठमाडौं ।  चीनले २०२४ मा उच्च सम्पत्ति भएका व्यक्ति (HNWI) गुमाउने नयाँ कीर्तिमान बनाएको छ। आर्थिक मन्दी, सरकारी हस्तक्षेप, सम्पत्ति नियन्त्रण, र अमेरिका लगायत देशहरूसँगको बढ्दो व्यापारिक तनावले गर्दा धनी व्यक्तिहरू देश छोड्न बाध्य भएका छन्। २०२५ मा अमेरिका-विशेषगरी डोनाल्ड ट्रम्प सरकारको उच्च कर नीति लागू भएपछि यो प्रवृत्ति झन् तीव्र हुने अनुमान गरिएको छ।

चीनमा पछिल्लो समय उत्पादन गतिविधि सुस्ताउँदै गएको, सम्पत्ति बजार संकटमा परेको, र उपभोक्ता माग घट्दो क्रममा रहेको देखिन्छ। यही कारण धेरै धनी व्यक्तिहरू आफ्नो सम्पत्ति अन्यत्र सार्न थालेका छन्। उद्यमी जेन मेंगले शाङ्घाईबाट हङकङ सरेर सिंगापुरमा बैंक खाता खोलेकी छन्। "म आफ्नो धेरै सम्पत्ति चीनमा राख्न चाहन्नँ, किनभने अहिले चीन अस्थिर अवस्थामा छ," उनले भनिन्।

स्विस बैंक UBS को रिपोर्टअनुसार, २०२४ मा चीनका अर्बपतिहरूको संख्या ५२० बाट घटेर ४२७ मा पुगेको छ। विज्ञहरूका अनुसार, राष्ट्रपति सी जिनपिङको ‘साझा समृद्धि’ नीति, जसले अति धनी वर्गलाई समाजलाई पैसा फिर्ता दिन दवाब दिन्छ, प्रमुख कारणमध्ये एक हो। ब्रसेल्सस्थित युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता जुनहुआ झाङ भन्छन्, "राष्ट्रपति सी जिनपिङ आर्थिक मामिलामा अक्षम छन्। धनी व्यक्तिहरूलाई यदि देशभित्र सम्पत्ति बढाउने वातावरण छैन भने उनीहरूले देश छोड्न बाध्य हुन्छन्।"

वैश्विक लगानी परामर्श संस्था हेनले एण्ड पार्टनर्स का अनुसार, २०२४ मा चीनले विश्वमै सबैभन्दा धेरै धनी व्यक्तिहरू गुमाउने क्रम जारी राखेको छ। "सन् २०२४ मा चीनबाट १५,२०० जना मिलियनियरहरू बाहिरिने अपेक्षा गरिएको छ, जुन २०२३ को तुलनामा झन् बढी हो," रिपोर्टमा उल्लेख छ।

सी जिनपिङको ‘शून्य कोभिड नीति’ को कठोर कार्यान्वयन, निजी उद्योगहरूमा हस्तक्षेप, र अनिश्चित भविष्यका कारण अर्बपतिहरू विदेश गइरहेका छन्। हेनले एण्ड पार्टनर्सका प्रमुख ग्राहक निर्देशक डोमिनिक भोलेक भन्छन्, "धनी व्यक्तिहरूको यो व्यापक पलायन संसारभरि नै शक्ति सन्तुलनमा ठूलो परिवर्तनको संकेत हो।"

चीनको आर्थिक गति सुस्त बन्दै गएको छ, जसका कारण अमेरिका, क्यानडा, र सिंगापुर जस्ता मुलुकहरूमा बसाइँ सर्ने प्रवृत्ति बढेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले चीनको अर्थतन्त्रलाई ‘उच्च अनिश्चितता’ क्षेत्रमा राखिसकेको छ। हरुन रिसर्च इन्स्टिच्युट का अनुसार, चीनले २०२४ मा मात्र १४२ अर्बपति गुमाएको छ भने २०२१ यता कुल ४३२ अर्बपतिहरू गुमाइसकेको छ।

चिनियाँ सरकारद्वारा ठूला निजी कम्पनीहरूमा गरिएको कठोर नियामक हस्तक्षेपले पनि धनी वर्गलाई अन्यत्र जान बाध्य बनाएको छ। एशिया सोसाइटी पोलिसी इन्स्टिच्युटका वरिष्ठ विश्लेषक गुओनान मा भन्छन्, "सरकारी हस्तक्षेपले केही निजी उद्यमीहरूलाई डराएको छ। तिनीहरू सुरक्षित ठाउँ खोजिरहेका छन्।"

धनी व्यक्तिहरूको असन्तोषलाई झन् बढाउने अर्को प्रमुख घटना भनेको चिनियाँ अर्बपति बैंकिङ म्याग्नेट बाओ फानको रहस्यमय रूपमा बेपत्ता हुनु हो। जेन मेंग भन्छिन्, "चीनमा अवस्था धेरै अस्थिर छ। म त सानो व्यवसायी मात्र हुँ, तर मसँगको धेरै सम्पत्ति भएका व्यक्तिहरू पनि देश छोड्ने तयारी गर्दैछन्।"

चीन सरकारले अमेरिका द्वारा लगाइएका उच्च भन्सार शुल्कको सामना गर्न रणनीति बनाइरहे पनि धनी वर्ग भने बसाइँ सर्नमै प्राथमिकता दिइरहेका छन्। यही कारण, सरकारले हाल कर छली छानबिन, सम्पत्ति जफत, र उद्योग बन्द गर्ने कार्यमा केही समयको लागि सुस्तता अपनाएको छ। तर, यसले प्रवृत्ति रोक्न सकेको छैन।

धेरै चिनियाँ व्यापारीहरूले अमेरिकी कर छल्न उद्योगहरू चीनबाहिर सारेका छन्। यस्तो अवस्थामा ती व्यापारीहरूले बसोबासको लागि पनि नयाँ देशहरू खोजिरहेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंककी प्रमुख कार्यकारी जुडी स्यु भन्छिन्, "हाम्रो धेरै ग्राहक—विशेष गरी साना र मध्यम उद्यमहरू—चीनबाट बाहिर जाने योजना बनाइरहेका छन्।"

चीनको अर्बपति पलायनले विश्वव्यापी सम्पत्ति पुनर्वितरणमा ठूलो परिवर्तन ल्याउने सम्भावना देखिएको छ। यदि यो क्रम रोकिएन भने, चीनको आर्थिक प्रभाव कमजोर हुने निश्चित देखिन्छ।