समाचार

प्रचण्डले पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउन प्रतिवद्धता दिएको चार दिनपछि दोषी पक्राउ

प्रचण्डले पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउन प्रतिवद्धता दिएको चार दिनपछि दोषी पक्राउ

सिराहाकी दलित किशोरी रिंकु सदा हत्या प्रकरणमा प्रमुख आरोपी पक्राउ परेका छन्। जबर्जस्ती करणीपछि रिंकुको हत्यामा संलग्न रहेका रुपेश मण्डललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो।

१७ वर्षीया रिंकु सादा माघ ३० गते सिराहको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सिराहका एसपी रमेश पण्डितले जनआस्थासँग भने, “आज बिहान समात्यौँ, अहिले जिल्लामा ल्याउँदैछौँ।”

त्यस घटनामा संलग्न तीन अन्य व्यक्तिको खोजी कार्य पनि जारी रहेको एसपी पण्डितले जानकारी दिए।

माघ २६ गते राति शौचालय जान निस्केकी रिंकु भोलिपल्ट बिहान चार बजे रगताम्य अवस्थामा फेला परेकी थिइन्। त्यसको तीन दिनपछि माघ ३० गते साँझ उनी आफ्नै घरमा मृत भेटिइन्।

घटनालाई लुकाउन केही व्यक्तिहरूले पञ्चायत बसाएका थिए, तर पीडित परिवारको जाहेरीपछि यो घटना बाहिर आएको हो। पञ्चायतमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ, जसमा केही भागेर भारत भागेका छन्।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले अनुसन्धानको लागि एक पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो, जसको नेतृत्व प्रहरी वरिष्ठ उपरिक्षक शान्तिराज कोइरालाले गरिरहेका छन्।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिन अघि पीडित परिवारसँग भेटेर पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउन आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए।