ट्रम्पको अन्तिम चेतावनी: हमासले बन्धक नछाडे गाजा ध्वस्त पार्ने घोषणा

वासिङ्टन डिसी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई कठोर चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै उनले इजरायली बन्धकहरूको तत्काल रिहाइ नभए हमासलाई "अन्तिम चेतावनी" हुने चेतावनी दिएका छन्।
ट्रम्पले लेखेका छन्, "यदि हमासले मेरो कुरा मानेनन् भने, इजरायललाई आवश्यक सबै सहयोग प्रदान गरिनेछ। हमासका कुनै पनि सदस्य सुरक्षित रहने छैनन्!"
उनको यो धम्की ह्वाइट हाउसले बन्धक मामिलामा हमाससँग प्रत्यक्ष वार्ता भइरहेको पुष्टि गरेको केही घण्टापछि आएको हो। ट्रम्पले हमासले बन्धकहरूलाई नछाडे ठूलो मूल्य चुकाउनुपर्ने बताए पनि इजरायललाई कुन किसिमको सहयोग दिनेछन् भन्ने खुलाएका छैनन्।
गाजाबाट भाग्नुस्, अन्त्य नजिक छ!
ट्रम्पले थपे, "सबै बन्धकहरूलाई अहिल्यै रिहा गर! मरेका इजरायलीहरूको शव फिर्ता गर! नत्र खेल समाप्त हुनेछ। यो अन्तिम चेतावनी हो। हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ!"
उनको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविरामको क्रममा रिहा गरिएका इजरायली बन्धकहरूसँगको भेटपछि आएको हो।
यसैबीच, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले हमास र अमेरिकाबीच बन्धक मुद्दामा प्रत्यक्ष वार्ता भइरहेको खुलासा गरिन्। यो वार्ता कतारको राजधानी दोहामा भएको थियो। वार्ताअघि अमेरिका र इजरायलबीच पनि परामर्श भएको जानकारी दिइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले गाजामा अझै २४ जना जीवित बन्धक रहेको पुष्टि गरेको छ। तीमध्ये अमेरिकी नागरिक एडेन अलेक्ज्याण्डर पनि रहेका छन्। साथै, कम्तिमा ३५ अन्य व्यक्तिहरू पनि हमासको कब्जामा रहेको इजरायली अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प