एमडीएमएस घोटाला: पूर्व अध्यक्ष दिगम्बर झासहित ३ दोषी, ४६ करोड जरिवाना

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतको फैसलाअनुसार झा, पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र विदेशी नागरिक मोद नुर अमिन बीन मोद नुर खानलाई एक–एक वर्ष कैद सजाय सुनाइएको छ।
न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले न्यूमेरा (एम) एसडीएनबीएचडी (मलेसिया), नमस्ते ग्लोबल कम्पनी प्राइभेट लिमिटेड (सिंगापुर), ओएसआई डिजिटल प्राली (इण्डिया जेभी) लाई दोषी ठहर गर्दै २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ बिगो तथा सोही बराबर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ।
बिगो र जरिवाना जोड्दा दोषीहरूबाट ४६ करोड ४१ लाख १८ हजार ६२८ रुपैयाँ असुल्ने निर्णय भएको छ। झा र खनालले संस्थाको अध्यक्षको रूपमा अनियमितता गरेको ठहर गर्दै थप एक महिनाको कैद सजाय समेत सुनाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण पूर्वअध्यक्ष पुरुषोत्तम खनाल